१ कार्तिक २०८३, आइतबार

सारङ्गी बजाएर ख्याति कमाएका हेमन्त रसाइली

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hemanta-kanchha-rasaili– विमल योगी

काठमाडौं । सारङ्गीको धुन मन नपर्ने सयद कसैलाई छैन होला । सारङ्गीको धुनै त्यस्तो हुन्छ जसले सबैको मन छुन्छ । गीतसंगीतमा सारङ्गीको धुन भएन भने त्यसको मिठासमा खल्लो हुन सक्छ । विशेष गरेर नेपाली गीतसंगीतमा सारङ्गीले अनिवार्य स्थान पाएको हुन्छ ।

सारङ्गीलाई आफ्नै पेसा बनाएर राजधानीमा जीविकोपार्जन गर्ने एउटा समूह पनि छ । यो समूहमा विशेष गरेर युवापुस्ता बढी छ । सारङ्गीलाई गाइने समुदायले गाउँघरमा बजाउने गर्थे । यो परम्परा अलि माथि उठेर गएको छ । अब सबै समुदायले जीविकोपार्जनको माध्यम सारङ्गीलाई बनाउन थालेका छन् ।

विशेष गरेर रेकर्डिङ स्टुडियोहरूमा सारङ्गी बजाएरै परिवार पाल्नेमा अर्का युवापुस्त पनि थपिएका छन् । उनी हुन म्याग्दी जिल्लाको ओखरबोट– ७ स्थायी घर भएका हेमन्त ‘कान्छा’ रसाइली । गीतहरूमा सारङ्गी बजाउने रसाइलीको नाम चर्चित छ ।

गीतमा राखिने सारङ्गीको धुन बजाउन उनी बोलाइएको स्टुडियो सारङ्गी बोकेर पुगी हाल्छन् । सारङ्गी बजाए वापत उनले राम्रो रकम पाउँछन् । ‘सारङ्गीले मलाई अलग पहिचान दिएको छ । चिनाएको छ’, रसाइलीले भने, ‘मेरो आफ्नो परिवारलाई पाल्न सकेको छु ।’

हुन त रसाइली स्वरका धनी पनि हुन् । उनले चार÷पाँच वर्ष अगाडि नै काजु शेरचनको ‘काँचो सन्तला…’ बोलको पुरानो गीतलाई आफ्नै स्वरमा रिमेक गरेका थिए । अहिले भने उनी गाउनेतिर भन्दा पनि सारङ्गीको मिठो धुन बनाउनेतिर केन्द्रित छन् ।

काठमाडौंस्थित नेपाल म्यजिक सेन्टरमा श्याम नेपालीसँग छ महिनासम्म सारङ्गीको औपचारिक शिक्षा लिएका रसाइलीले सारङ्गीमा पोख्त हुन आफैले पनि ठूलो मिहिनेत गरेका हुन् । ‘श्याम नेपालीज्यूसँग छ महिना सारङ्गी बजनाउन सिकेको हुँ’, उनले भने, ‘त्यसपछि मैले आफै मिहिनेत गरेर यो स्थानसम्म आइपुगेको छु ।’ हुन त रसाइलीको सारङ्गी बाद्यबाधकको मात्रै परिचय छैन । उनी कुशल गायक पनि हुन् ।

सराइलीले दसैँलाई ध्यानमा राखेर आफ्नै शब्द, संगीत र स्वरमा ‘भन्नु मात्रै रह्यो…’ बोलको गीत दर्शक स्रोताका लागि ल्याएका छन् । म्युजिक भिडियोमा पनि रसाइली आफैले अभिनय गरेका छन् । उनको यो गीत यूट्युवमा हेर्न र सुन्न सकिन्छ ।

रसाइलीको स्वर ‘काँचो सुन्तला…’ हुँदै ‘म्याग्दी तिरैमा…’, ‘कान्छी कहिल्यै तिम्रो बन्न सकिन…’, ‘म्यारो लाग्छ गाउँ…’, ‘पराइ ठानेपछि…’, ‘भन्नु मात्रै भयो…’, ‘धोका पाएँ पिरती गराइले…’लगायत थुप्रै गीतमा सुन्न पाइन्छ । रसाइली गायकबाट सारङ्गी बाद्यबाधकतिर पाइला मोडेका हुन् ।
२०६० सालदेखि गीतसंगीतको क्षेत्रमा लागेका रसाइलीलाई नचिन्ने सायद कुनै गायक, संगीतकार, संगीतकार वा कलाकार्मी नै छैनन् ।

उनले बजाएको सारङ्गीको धुन सनेर लठ्ठ नपर्ने कोही हुँदैनन् । रसाइलीले टीका पुन, राधिका हमाल, जय देबकोटा, पशुपति शर्मा, तेजेश्वर रेग्मीलगायत थुप्रै गायक गायिकाहरूको गीतमा सारङ्गी बजाइ सकेका छन् । ‘दिनमा कम्तिमा दसदेखि १७ वटासम्म गीतमा सारङ्गीको धुन रेकर्ड गराउने गरेको छु’, रसाइलीले भने, ‘मैले भ्याएसम्म र जाने अनुसार सबैमा चित्त बुझाएको छु ।’