काठमाडौं, १३ भदौ । उच्चस्तरीय राजनीतिक संयन्त्र गठनमा सहमति जुटाउन बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्ष विहीन भएपछि एमाओवादी सहितका विपक्षी दलहरुले व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा हंगामा मच्याउने तयारी गरेका छन् ।
एमाओवादीका एक नेताका अनुसार सत्तारुढ दल वार्तामा सकारात्मक नभएपछि संसद बैठक अवरुद्ध पार्ने तयारी भएको हो ।
एमाओवादीलगायतका दल उच्चस्तरीय राजनीतिक संयन्त्र गठन, बजेटमा विपक्षीका माग सम्बोधन र चारबुँदे सहमतिमा सत्तारुढ दल सहमत नभएसम्म सदन चल्न नदिने अडानमा छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै उपचारका क्रममा भारत जाने तयारी भएको भन्दै भारत जानु अघि नै एमाओवादीका माग सम्बोधन गर्ने गरी छलफल गर्न कांग्रेस र एमाओवादीका शीर्ष नेतालाई आफ्नो निवास बोलाउनु भएको थियो ।
ओली निवास बालकोटमा बसेको बैठक निष्कर्षविहीन भए पछि एमाओवादी साना दललाई लिएर संसद अवरुद्ध गर्ने तयारीमा रहेको हो ।
शीर्ष नेताको भेलामा कृष्णप्रसाद सिटौंला, ओली र प्रचण्ड हुनुहुन्थ्यो ।















प्रतिक्रिया