१ कार्तिक २०८३, आइतबार

सेलिब्रेटिका पनि सेलिब्रेटी हुन् श्याम बागदाश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shyam-bagdash-kalakar– विमल योगी

काठमाडौं । श्याम बागदाशको नाम कसैलाई थाहा छैन । थाहा पनि होस् कसरी । उनी कुनै ठूलो सेलिब्रेटी होइनन् । तर सेलिब्रेटी बनाउने मध्येका एक प्रमुख व्यक्ति भने हुन् । श्याम बागदाश सेलिब्रेटीका पनि सेलिब्रेटी हुन् । उनलाई नेपालका चर्चित संगीतकार, गीतकार, साहित्यकार वा कलाकारहरू धेरैले चिन्छन् । श्याम पर्दा पछाडिका सेलिब्रेटी हुन् ।

श्याम बागदाशको काम भनेको साउण्ड रेकर्डिष्टको हो । काठमाडौंको जमलस्थित डेरेमी रेकर्डिङ स्टुडियोमा दिनदिनै भेटिने श्यामले सयौँ गीतको मिक्सिङ गरेका छन् । यो चर्चित रेकर्डिङ स्टुडियो संगीतकार न्यूह बज्राचार्यको हो ।

नुवाकोट जिल्ला खानीगाउँमा जन्मिएका श्यामले सन् २००७ देखि साउण्ड रेकर्डिष्टको काम थालेका हुन् । ‘संगीत क्षेत्रमा लाग्ने सानैदेखिको सोँच थियो’, उनले भने, ‘साउण्ड रेकर्डिष्ट अर्थात मिक्सिङको काममा अहिले जम्न थालेको छु । अब यसैमा मलाई रमाइलो लाग्छ ।’

पछिल्लो पटक नेपाली फिल्म ‘रेशम फिलिलि’को ‘पिरतीको घम…’ बोलको गीत रेकर्डिङका क्रममा प्राविधिकको काम गरेका श्यामले रेखा थापाको फिल्मको ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला…’ बोलको गीतको रेकर्डिङ गराएका हुन् । यो गीतमा माण्डपी त्रिपाठी र दीपक लिम्बुको स्वर छ । यति राम्रो गीतको मिक्सिङ गर्ने श्यामलाई दर्शक स्रोताले भने चिन्दै चिन्दैनन् ।

श्यामले रामकृष्ण ढकाल, शिव परियार, दीपक लिम्बु, अञ्जु पन्त, प्रमोद खरेललगायत थुप्रै चलेका गायक तथा गायिका एवम् संगीतकारहरूसँग काम गरेका छन् । सबैसँग उनलाई काम गर्दा खासै अप्ठेरो भएन । ‘मेरो काम भनेको साउण्ड रेकर्डिष्ट हो’, उनले भने, ‘काम इमान्दारिताका साथ गर्नुपर्छ । को सँग कस्तो व्यवहार गर्ने आफूमा भर पर्छ । मैले अरुलाई सम्मान गर्न सके भने मात्रै मेरो सम्मान हुन्छ ।’

श्यामले यो पेशा पुतलीसडकको प्राइम रेकर्डिङ स्टुडियोमा सिकेका रहेछन् । उनले ए वान म्यूजिसियनमा आफूले साउण्ड रेकर्डिङको काम सिकेको बताए ।

यो क्षेत्रमा लागेर तपाईले नाम त काउन नसक्नु भएन है भन्ने प्रश्नको जिज्ञासामा श्यामले भने, ‘मैले नाम किन कमाएन ? मलाई दर्शक स्रोतका सेलिब्रेटीहरू गायक, गायिका र संगीतकारहरूले चिन्नु हुन्छ । फेरि मेरो पेशा उहाँहरूको जस्तो सेलिब्रेटी हुने खालको पनि त होइन नी ? मैले उहाँहरूको काम राम्रो बनाउने हो ।’ नाम चलेका कलाकारहरूले आफूलाई बाटोमा हिँड्दा चिनेर बोलाउँदा रमालो लाग्ने गरेको श्यामको अनुभव छ ।

आगामी दिनमा अझै राम्रो काम गरेर देखाउने श्यामको इच्छा छ । ‘ज्यान पाल्न र रोजगारीका लागि जे पनि गर्न सकिन्छ’, उनले भने, ‘मैले मेरो क्षेत्रमा केही गरेर देखाउनु पर्छ । सेलिब्रेटीहरूले सधै मलाई सम्झने वातावरण निर्माण गर्नुपर्छ ।’