काठमाडौँ, १२ भदौं । प्रजातन्त्रवादी पत्रकारहरूको छाता सङ्गठन नेपाल प्रेस युनियनको आठौं राष्ट्रिय महाधिवेशनमा ७१ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुने निश्चित भएको छ ।
यही भदौ २१ र २२ गते पोखरामा हुने महाधिवेशनको तयारीस्वरुप काठमाडौँमा दुई दिनसम्म चलेको युनियनको केन्द्रीय समितिको बैठकले विधानको पाँचौँ संशोधनबाट समावेशीसहित ७१ सदस्यीय कार्यसमिति बनाउने प्रस्तावलाई अनुमोदन गरेको हो ।
संशोधित विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, एक समावेसी उपाध्यक्ष, एक महिला उपाध्यक्ष र एक महासचिव रहनेछन् । त्यस्तै तीन उपमहासचिव, चार सचिव र छ क्षेत्रीय संयोजक गरी २१ पदाधिकारी रहने विधान संशोधन समितिका सदस्य दीपक आचार्यले राससलाई जानकारी दिनुभयो ।
कार्य समितिमा १४ अञ्चल संयोजक तथा १५ खुल्ला, तीन मधेसी, तीन महिला, तीन आदिवासी / जनजाति, एक दलित, एक अल्पसङ्ख्यक÷अपाङ्, एक पिछडिएको क्षेत्र, एक प्रतिष्ठान, एक उपत्यका र मनोनित सात गरी जम्मा ३६ सदस्यको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
बैठकले महासचिव शिव लम्साल र कोषाध्यक्ष ईश्वरी ओझाले तयार पार्नुभएको प्रतिवेदन अनुमोदन गरेको छ । महाधिवेशनको उद्घाटन पोखरामा यही भदौ २१ गते नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुने भएको छ ।
बैठकले नुवाकोट, काठमाडाँै, महोत्तरी, हुम्ला, कञ्चनपुर र नेपाल टेलिभिजन प्रतिष्ठान शाखाबाहेक केन्द्रमा प्राप्त करिब एक हजार १०० महाधिवेशन प्रतिनिधिको सूचीलाई पनि छानविन गरी अन्तिम रुप दिएको सचिव सन्तोष न्यौपानेले बताउनुभयो ।
युनियनले आठौँ महाधिवेशनपछि काठमाडौँ बाहिर पनि प्रतिष्ठान शाखा स्थापनाका लागि व्यवस्था गर्ने र हाल विधानमा रहेको उपशाखाको प्रावधानलाई खारेज गर्ने भएको छ ।
इटहरीमा सम्पन्न सातौँ महाधिवेशनमा २७ सदस्यीय कार्यसमितिको प्रावधानलाई समावेशी बनाउन चौथौ संशोधनबाट ६१ सदस्यीय पु¥याइएको थियो ।
युनियनका मुलुकभर ७२ जिल्ला शाखा, दुई उपशाखा र सात प्रतिष्ठान शाखाअन्तर्गत करिब पाँच हजार बढी साधारण सदस्य रहेको कार्यवाहक अध्यक्ष बद्री सिग्देलले बताउनुभयो ।
जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा २०४८ सालमा स्थापना भएको युनियनमा त्यसएता हरि अधिकारी, तारा बराल, रमेश तूफान, कूलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समिरजङ्ग शाह र किरण पोखरेलले नेतृत्व गरिसक्नुभएको छ ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्थाका रुपमा रहेको युनियनले स्थापनाकालदेखि श्रमजिवी पत्रकारका हकहितमा आवाज उठाउँदै आएको छ । रासस
















प्रतिक्रिया