काठमाडौं, २८ भदौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको विषयमा भारत भ्रमणसँग अनावश्यक जोडिएको आरोप लगाउनु भएको छ ।
सम्पर्क मञ्च गठन अन्तर्गत मंगलबार काठमाडौंको नयाँबानेश्वरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष महतोले कांग्रेस र माओवादी केन्द्रसँग संविधान संशोधन गर्ने सहमति अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई मतदान गरिएको बताउनुभयो ।
‘संविधान संशोधन भारत भ्रमणसँग सम्बन्धित छैन’, उहाँले भन्नुभयो, ‘प्रचण्ड आफैले भारतको भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराउने भनेका हुन् । हामीले त्यसमा केही भनेका छैनौँ । यसलाई भारतसँग जोड्नु पर्ने आवश्यक्ता छैन । हाम्रा माग संशोधन गरेर पूरा हुन्छ भने मधेसी मोर्चा खुसी नै छ । तर यसलाई भारतसँग जोडिनु हुँदैन ।’
अध्यक्ष महतोले नयाँदिल्ली जानुअघि संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने आश्वासन ‘प्रचण्ड’ आफैले दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन गरेर नागरिकता, तराई मधेसमा दुई प्रदेश र निर्वाचन क्षेत्र जनसंख्याका आधारमा गराउने कुरामा कुनै सुरसार भएको छैन । हामीले पनि हेरिहेका छौँ ।’
‘प्रचण्ड’को मुख हेरेर प्रधानमन्त्री निर्वाचनमा मतदान नगरिएको बताउनुभएका सद्भावना पार्टीका अध्यक्ष महतोले भन्नुभयो, ‘केपी ओलीलाई विस्थापित गर्नु थियो । अर्को विकल्प पनि भएन । हाम्रीसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने भनेपछि प्रचण्डलाई मतदान गरिएको हो ।’
यसैवीच, सद्भावना पार्टीले तराईका २२ जिल्लाको सम्पर्क मञ्च गठन गरेको छ ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार पार्टी संगठन निर्माण अन्तर्गत तराई मधेसका २२ जिल्लाका सम्पर्क समितिहरू गठन भएको बताउनुभयो ।
सम्पर्क मञ्च गठनको कार्यक्रममा सद्भावना पार्टी समर्थित राजाधनीमा रहेका उल्लेख्य कार्यकर्ताको सहभागिता रहेको थियो ।












प्रतिक्रिया