काठमाडौं, २८ भदौ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आफूले गरेको भारत भ्रमणबाट नेपाल भारत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको बताउनुभएको छ ।
दुई दिने भारत भ्रमण सकेर मङ्गलबार स्वदेश फर्र्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– मेरो यस भ्रमणले नेपाल भारत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ र यसले दुई देशबीच विश्वासको सम्बन्ध विकसित गर्न दरिलो आधार निर्माण गरेको छ ।
मन्त्री डा महतले यस भ्रमणका क्रममा आफूले भारतीय विदेशमन्त्री सुषमा स्वराजसहित अन्य मन्त्रीहरु र राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गरेको र भ्रमण अत्यन्तै सफल र सौहार्द भएको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका लागि यसले सकारात्मक आधारशिला निर्माण गरेको बताउनुभयो ।
यसै भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्नुहुने निश्चित भएको र तिहारलगत्तै उहाँले नेपाल भ्रमण गर्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा मिति तय हुने जानकारी पनि मन्त्री डा महतले दिनुभयो ।
भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री स्वराजसँग करिब एक घन्टा अत्यन्तै सौहार्दपूर्ण वातावरणमा द्विपक्षीय वार्ता भएको जनकारी दिँदै मन्त्री डा महतले सो वार्ताका क्रममा नेपालको आवश्यकता, हित र स्वार्थका विषयमा खुलेर छलफल गरिएको बताउनुभयो ।
यस भ्रमणका क्रममा भारतीय जलस्रोत मन्त्री उमा भारती, उर्जामन्त्री पियुष गोयल, भारतीय जनता पार्टीका महामन्त्री राम माधव, भारतीय राष्ट्रिय काँग्रेसका नेता जनार्दन दिवेदी, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित दोबलसँग पनि छलफल भएको र नेपालले आफ्नो राष्ट्रिय स्वार्थका क्षेत्रमा राखेका विषयमा उहाँहरु अत्यन्तै सकारात्मक रहेको उहाँले बताउनुभयो ।
मन्त्री डा महतले भन्नभुयो– यस भ्रमणमा भएका छलफलका क्रममा भारतले आफ्नो तर्फबाट कुनै माग, शर्त वा अपेक्षा राखेको छैन र हामीले नै आफ्नो आवश्यकता र राष्ट्रिय महत्वका विषयहरु राखेका छौँ ।
यस भ्रमणमा नयाँ आयोजना वा सम्झौता भन्दा पनि दुई देशबीच विगत लामो समयदेखि कार्यान्वयनको चरणमा रहेका र सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेका विषयमा छलफल भई तिनका समस्या र अवरोधहरु हटाएर सहजीकरण गर्दै अघि बढ्ने विषयमा नेपालतर्फबाट राखिएको प्रस्तावमा उहाँहरु अत्यन्तै सकारात्मक हुनुभएको उहाँले बताउनुभयो ।
पञ्चेश्वर आयोजनालाई गतिदिने विषयका साथै डुबान समस्याबारे कुरा उठाएको र आगामी दिनमा यी विषयमा उत्पन्न अवरोध हटाएर कार्यान्वयनमा सहजीकरण गर्न उहाँहरु सहमत हुनुभएको मन्त्री डा महतले बताउनुभयो ।
दुई देश बीच उर्जा व्यापार सम्झौताका क्षेत्रमा बिगतमा अवरोध उत्पन्न भएकोले त्यसलाई हटाउने विषयमा सहमति भएको र यसका कारण नेपालमा उर्जामा ठूलो लगानी आउने बारेमा आफू विस्वस्त रहेको उहाँले बताउनुभयो ।
विद्युतीय ट्रान्समिसन लाइन निर्माण, गौरीफन्टा नाकालाई स्तरोन्नती गरी सहज बनाउन तथा चाँदनी दोधारा नाका सञ्चालनलाई अघि बढाउन, हुलाकी राजमार्गको दोस्रो चरणको कामलाई अघि बढाउने विषयमा नेपालको तर्फबाट प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी गण्डक सम्झौताबमोजिम नेपालको ४० हजार एकड भूमिमा सिंचाई हुनुपर्नेमा हाल २५ हजार भूमिमा मात्र सिंचाइ पुगेकोले यो विगतको सम्झौता पूरा गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।
यी सबै विषयलाई भारतीय पक्षले गम्भीरता साथ लिएको र सफल कार्यान्वयनका लागि सकारात्मक देखिएको जानकारी मन्त्री डा महतले दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा परराष्ट्रमन्त्री डा महत आइतबार भारत जानुभएको थियो ।












प्रतिक्रिया