पोखरा, २६ भदौ । व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले संविधान गतिशील दस्तावेज हो भन्दै प्रस्तावका आधारमा संशोधन गर्न सकिने बताउनुभएको छ ।
प्रेस चौतारी कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले राजनीतिक सुनिश्चितता र औचित्य हेरेर संविधान संशोधन गरिने बताउनुभयो ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहनुभएका उहाँले चैतमा स्थानीय तहको निर्वाचन गर्नका लागि भदौ महिनाभित्र आवश्यक कानुन तयार गरिसक्नुपर्नेे बताउँदै एमाले प्रतिपक्षमा बसेर निर्वाचनमा जान तयार रहेको बताउनुभयो ।
रुपान्तरीत संसद्को कार्यावधि बढाउन नमिल्ने भन्दै उहाँले डेढ वर्षको अवधिमा तीनवटै निर्वाचन सम्पन्न गर्नेतर्पm सरकार संवेदनशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
स्थानीय विकास निर्माणमा निर्वाचन क्षेत्र विकास कार्यक्रम प्रभावकारी बनेको भन्दै उहाँले रकम खर्च गर्ने कार्यविधि तत्काल ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।
शाखाका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा रामजी लम्साल र अर्जुन गिरीले पनि आफ्नो धारणा राख्नुभएको थियोे । रासस













प्रतिक्रिया