
– मदन जोशी
मार्तडी, २६ भदौ । शिव लिङ्ग आकारको ठूलो ढुङ्गा, ढुङ्गाबीच हात्तिकै जस्तो सुँढ आकृतिमा ढुङ्गे धारा, त्यसैको बीचमा चार वटा पानीका कुण्ड (दह) भएको नयाँ गुफा ताल भेटीएको छ । हात्ति आकृतिको ढुङ्गे धाराबाट पानी बग्छ, त्यही पानीले कुण्डहरु भरिएका देखिन्छन् ।
गुफा गोत्री–४ स्थित रिफेरह जंगलमा भेटिएको हो । हेर्दा अनौठो र आश्चार्य लाग्दो छ । भगवानी शिवको लिङ्ग जस्तै आकृति छ । चट्टानको बीच नियालेर हेर्दा उक्त दृश्य देखिने गरेको छ । अनौठो गुफा जंगलमा होला, भन्ने स्थानीयले सोचेका पनि थिएनन् ।
जंगलको स्थानीयले परापूर्व कालदेखि नै उपयोग गर्दै आएका थिए । कोही कसैले भेटाएका थिएनन् । गुफा भर्खर मात्र फेला परेको स्थानीय कृष्ण बमले बताए । गुफा दुई पहाडको बीचमा छ । पहाडको खोच रहेको स्थानभित्र गुफा रहेको बमले बताए ।
गुफा स्थानीयले घाँस काट्न गएको बेला देखेका हुन् । गुफा भेटिएको स्थान मार्तडीबाट २ दिनको पैदल दुरीमा पर्छ । नयाँ र अनौठो गुफा भेटिएपछि स्थानीयले दैविय शक्ति हुनेसक्ने आँकलन गर्न थालेका छन् । उनीहरुले दैनिक जसो पूजापाठ तथा दर्शनका लागि जाने गरेको स्थानीय प्रकाश बहादुर शाहीले बताए ।
शिव लिङ्ग आकृति देखिनु, हात्ति अर्थात गणेशको नाकको आकृतिबाट पानी बग्नु । जमिनमा पानीका कुण्ड देखिन्, आफैमा अनौठो र चाखलाग्दा गुफा भेटिएको शाहीले थपे । जंगलको बीचमा भएकोले स्थानीयले एक्लै गुफा भित्र पस्ने र जाने आउने आँट गरेका छैनन् । बाहिरबाट देखिएपनि भित्रको अवस्था बारे जानकारी नै नभएको स्थानीयको भनाई छ ।
स्थानीय जंगलकै नामबाट गुफाको पनि ‘रिफेरह कुण्ड’ नाम राखेका छन् । पानी परेपछि घाँस काट्न गएका गोठालाहरु उक्त पहाड मुनी ओत लाग्न गएका थिए । पछि हेर्दै जाँदा उक्त दृश्य देखिएको हो । गुफा प्राचीन कालिन महत्व बोकेको हुनु पर्ने अड्कल स्थानीयको छ ।
बडिमालिका क्षेत्रको पूर्व तर्फको फेदिमा उक्त गुफा रहेको छ । पर्यटकका लागि पनि नयाँ अध्ययन र आकर्षणको केन्द्र बन्ने संभावना छ । उक्त गुफाबाट बगेर आएको पानी भुकाहाँ खोला भनेर कर्णाली नदीमा मिसिने गरेको छ । देशकै तेस्रो ठूलो नदी कर्णालीको माथिपट्टी यो गुफा रहेको छ ।
गुफा भेटीएपछि गोत्रीका स्थानीयले संरक्षणमा गाविसको पहल रहने बताएका छन् । गुफाको साँस्कृतिक एवं पर्यटकीय महत्व र बिशेषताबारे थप अध्ययन हुन आवश्यक छ । गुफाको प्रवद्र्धन हुन सके पर्यटकको रोजाई बन्न सकेन स्थानीयले विश्वास लिएका छन् ।
गाउँ बस्तीका जंगलहरुमा यी र यस्तै गुफा धेरैभएपनि यसको दृश्य नजरअन्दाज गर्दा अरु भन्दा धेरै भिन्नै रहेको स्थानीयको दाबी छ । नयाँ भेटीएको गुफा भगवान शिव र उनका छोरा गणेशको शरिर आकृतिसँग मिल्दो छ । त्यसकारण पनि आकर्षण र महिमा भिन्न छ, भन्छन्, गोत्रीका महेश शाही ।
उक्त क्षेत्रमा हिउँ चितुवा पनि पाईने गरेको छ । यस्तै जुकोटको नैन्याल गुफा संरक्षणको अभावमा अस्थित्व नासिदै गएको छ । भने जुगाडाको गणेश गुफाको खासै प्रचार हुन सकेको छैन । यस्ता सम्पदाको संरक्षण सम्वद्र्धन हुन सकेको छैन । जिल्ला तहबाट पनि संरषण र प्रवद्र्धनका लागि कुनै पहल नभएको देखिन्छ ।












प्रतिक्रिया