
दाङ, २५ भदौ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट सादा पोशाकमा खटिएको प्रहरीको हतियार खोस्न खोज्ने सोही ठाउँ बस्ने ३३ वर्षीय सागर श्रेष्ठसमेतका ६ जनालाई रा.१ प १९७१ नम्बरको मोटरसाइकलसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तुल्सीपुर नगरपालिका–१५ ग्वारखोलाबाट अबैधरुपमा बालुवा गिटी चोरी भइरहेको भन्ने खबर प्राप्त हुनासाथ उक्त कार्यालयबाट खटिएका प्रहरी हवल्दार फलिन्द्र संज्याल र प्रहरी जवान सुदिप बुढा सोही ठाउँस्थित राजमार्गको कटेजमा पुग्दा हो–हल्ला गरिरहेका मानिसहरुले उनीहरुको हतियार खोस्न लागेको र तरवार प्रहार गर्न खोज्दा प्रहरीले आत्मरक्षाको लागि गोली फायर गर्दा रामपुर–९ सिमलटार बस्ने २७ वर्षीय दानबहादुर बुढा तिघ्रामा गोली लागि घाइते भएका थिए ।
घाइते बुढाको राप्ती उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया