१ कार्तिक २०८३, आइतबार

लाक्पाफुटी शेर्पाको उपन्यास ‘हिमालकी छोरी’ बजारमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himal-ki-Chori

काठमाडौ । बहुचर्चित लेखिका, समाजसेवी, राष्ट्रसेवक/प्रशासक “लाक्पाफुटी शेर्पा”का दुई वटा कृति एकसाथ बजारमा आएका छन् ।

शुक्रबार काठमाडौको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीबनबहादुर शाही सहित राष्ट्रिय तथा अन्र्तराष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरुले शेर्पाका दुई वटा कृति एकसाथ बिमोचन गरेका हुन् ।

बिमोचनअघि नै सर्वाधिक चर्चामा रहेको हिमाली कथाबस्तुमा आधारित उपन्यास “हिमालकी छोरी” र यस अघि नै लेखिएको आत्माकथा “हिमालमा चालिस बर्ष”को अंग्रेजी संस्करण “फोर्टी इयर्स इन दी माउण्टेन” अब बजारमा आएको छ ।

हिमाली समुदायमा हुर्किने एक नारी पात्रको भोगाईलाई कलात्मक रुपमा उतारिएको विषयबस्तु नै हिमालकी छोरी उपन्यासको मुख्य विषयबस्तु हो । उपन्यासकी पात्र “छेची”को कथा नै हिमालका छोरीहरुको वास्तविक कथा हो भन्ने बलियो आधार सहित लेखिकाले आफ्ने लेखन सिपमा उतारेकी छन् । यो उपन्यास नेपालका महिला एवं पश्चिममा महिलाबीचको फरक तथा समानताको तुलनात्मक अध्ययन हो । उपन्यासकी पात्र छची हिमालको काखमा गरिबीको खाल्डोमा डुबेर हज्जारौ पटक उत्रिन खोज्छे ।

himal-ki-chhori-2-Copy-1

सोलुखुम्बु जिल्ला पर्यटकको हवमा जन्मिएकी छेची पर्यटकको पथप्रर्दशको रुपमा आफ्ना गन्तव्य अघि बढाउछे । त्यही क्रममा विदेशी पर्यटकसँग “छेची”को हिमचिम बढ्छ । “छेची”को रुप र वैशमा मोहित भएको विदेशीले प्रेमभाव दर्शाएर विबाह बन्धनको बाचा गर्छ । नभन्दै गरिबीको बादल फाट्ने आशमा छेचीले स्वीस नागरिकसँग लगनगाँठो कसेर उतै लाग्छे । यीनै सेरोफेरोमा संघर्ष, सुख, रोमान्सको समिश्रण सहित उपन्यासको रुपमा हिमालकी छोरी प्रस्तुत गरिएको छ । वास्तबमै यो शेर्पा समुदायको पहिलो उत्कृष्ट साहित्य हो ।

यो उपन्यास एउटी महिलाले आमा तथा छोरी भएर जीवन बिताउन कति कठिन छ भन्ने कुरामा केन्द्रित छ । फरक धर्म, भाषा, संस्कृति, परम्परा एवं रहनसहन भएको ठाउँमा जिउन कति गार्‍हो हुन्छ त्यसको स्पष्ट चित्र पनि यसमा छ । लाक्पा फुटी ट्रस्टले बजारमा ल्याएको यो उपन्यासको मूल्य ५ सय १५ रुपैयाँ राखिएको छ ।

उपन्यासकी पात्र “छेची”को परिवेश लेखक आफ्नै हो भन्दा अन्यथा हुँदैन । लुक्लानजिकैको मुसेगाउँमा चौँरीको बथान, उवा र सिमी फल्ने खेतबारीमा दगुरिहिँड्ने १३ वर्षकी किशोरी “छेची” नै त्यो उमेरकी “लाक्पाफुटी” हो, लेखकको स्वीकारोक्ति छ । ठूल्ठूला सपना बुन्न थालेपछि घरकी जेठी छोरी “छेची” घरबाट निस्कन्छे । राजीखुसीसाथ भरिया जीवन स्वीकार्छे । भारी बोकेरै त्याङबोचे, लोङबुचे, हुन्कु भेल्ली, थोराङ पास, गोरेकसेपदेखि कञ्चनजंघासम्म पुग्छे ।

Himal ki choriलुक्ला वरपरका शेर्पाहरूको गरिबी, अशिक्षा, भरिया बन्नुपर्ने बाध्यता, अकाल मृत्यु र अन्य विविध पीडा सजीव उतारिएको छ, लाक्पा फुटी शेर्पाको यो उपन्यास हिमालकी छोरीमा । लाक्पाफुटी त्यसै गाउँको बासिन्दा भएका कारण आफ्नो ठाउँ र पात्रहरूको सुन्दर चित्रण भएको भएको जसमा लेखिकाले आफ्नै कथाबस्तुलाई अक्षरको रुप दिएको हो भन्न सकिन्छ । गोराले दिएको टिप्स र जडौरीहरूमा अल्झिँदा अल्झिँदै कञ्चनजंघातिर जाने टोलीमा भेट हुन्छ स्वीस डानियलसँग । दोब्बर उमेरको फोटोग्राफर र लेखक डानियलले ट्रेकबाट फर्केपछि पढ्नका लागि पैसा दिन्छ, अन्त्यमा स्वीट्जरल्यान्ड नै लान्छ ।

बस्दै जाँदा उसको विवाह प्रस्तावले छेचीको दोधार बढ्छ । नेपाल फर्कूं आफ्नो र आफन्तको सपना पूरा नहुने, बिहे गरूँ मनले खाएको छैन । यही अन्योलमै बिहे गर्छे बूढो डानियलसँग । बाध्यता र जिम्मेवारीको मारमा परेर छेचीजस्ता धेरै नेपाली युवतीले नमिल्दा सम्बन्धहरू स्वीकारेर बसेका छन् विश्वका धेरै कुनामा । परिवार खुसी हुन्छन् तर परिवारलाई खुसी दिने त्यस्ता युवती आफैँ चाहिँ खुसी छैनन् ।

एउटा छोरा जन्मिएपछि रिसाहा र जन्ड स्वभावको डानियलले छेचीको जीवन नर्क बनाइदिन्छ । डानियलसँग डिभोर्स गरेर ऊ नेपाल फर्किएपछि सकिन्छ उपन्यास । उपन्यासको पाठ के हो भने सपना, पैसा भन्दाभन्दै हामी जीवनका उर्वर समय अर्काकै देशमा अर्काकै लागि खर्च गर्छौं र अन्तमा दुखेको मन, अधकल्चो सपना, विक्षिप्त मनस्थिति र अन्योल भविष्य लिएर फर्किन्छौँ । उपन्यासमा उठाइएको विषय निकै सान्दर्भिक र सशक्त देखिन्छ ।

लेखिका लाक्पाफुटी शेर्पा नेपाल सरकार पर्वतीय प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुन् । शेर्पाको दर्जनौ सामाजिक संस्थामा सक्रिय भुमिका रहेको छ । समाजसेवामा पनि उत्तिकै सक्रिय शेर्पाले दर्जनौ बालबालिकाहरुको पालन-पोषण तथा शिक्षा-दिक्षासँगै भविष्य निमार्ण गरिदिइसकेकी छन् ।

लाक्पाफुटी शेर्पा नेपालकी पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी सहयात्री हुन् । एउटै आरोहण दलमा रहेर सगरमाथा आरोहणको प्रयास गरेपनि चुचुरो नजिक नपुग्दै अघिअघि बढेर फर्किदै गरेकी पासाङको निधन भएपनि लाक्पाफुटीको सगरमाथा आरोहण बीचैमा तुहिएको थियो । साहासलाई शोकले जितेपछि लाक्पाफुटी खालिहात फर्किएकी थिइन् ।