काठमाडौँ, २४ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा भाग लिने अधिकांश सांसदले मुलुकमा पछिल्लो समय बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै पीडितलाई तत्काल राहत र पुनःवासको व्यवस्था गर्न माग गर्नुभयो ।
शून्य समयमा पहिलो वक्ताको रुपमा सांसद अर्जुनप्रसाद जोशीले पर्वत जिलामा यही भदौ २२ गते गएको पहिरोमा परी चार जनाको मृत्यु हुनभएको हुँदा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गर्नुभयो ।
उहाँले अविरल वर्षापछि आएको बाढीपहिरोबाट कयौँ खानेपानीका आयोजना, खेतबारी र घर गोठमा क्षति भएको हुँदा खानेपानी आयोजना तत्काल सञ्चालनमा ल्याउन तथा पीडितपरिवारलाई पुर्नवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अनुराधा थापामगरले निकट भविष्यमा प्रधानमन्त्रीको भारत भ्रमणको समयमा नेपाल–भारत सीमा क्षेत्रमा हुँदै आएको चेलिबेटी बेचबिखन तथा ओसारपोसार र जाली नोटको कारोबार रोक्न विशेष ध्यान दिनुपर्ने विषयमा भारत सरकारसँग कुराकानी गर्न सुझाव दिनुभयो ।
अर्का सांसद अमनलाल मोदीले रोजगारीका सिलसिलामा विदेशमा गएका व्यक्तिको शवलाई परिवारको मागअनुरुप तत्काल स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कान्ता भट्टराईले विश्वमै नेपाल मठमन्दिरै मन्दिरको देश भनेर चिनिने हुँदा भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका सम्पदा र मठमन्दिर निर्माणमा विशेष ध्यान पुर्याउन सरकारसँग माग गर्नुभयो ।
सांसद केशरी घर्तीमगरले अविरल वर्षाकै कारण म्याग्दीको देवखोलाले बगाएर दुई जनाको मृत्यु हुनका साथै १५ घर बगाएकाले पीडितपरिवारलाई राहत, क्षतिपूर्तिका साथै पुर्नवासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । रासस













प्रतिक्रिया