काठमाडौं, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कोषाध्यक्ष उद्धव पौडेल मालिक रहेको गोपीकृष्ण मुभिजका कारण दर्जनौ फिल्म निर्माताहरू घर न घाटको हुन पुगेका छन् ।
फिल्म प्रदर्शन गरे वापतको पैसा समयमा नदिएका कारण निर्माताहरू धमाधम डुब्न बाध्य भएका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
पौडेल राप्रपा नेपालका अध्यक्ष कमल थापाको पछि लागेर राजनीतिक गतिविधिमा हिँड्ने गरेका छन् । उनले फिल्मको सबै कारोबार हेर्ने जिम्मेवारी छोरी र छोरालाई दिएका छन् । तर, छोराछोरीले निर्माताहरूलाई समयमा पैसा नदिएर हैरान बनाएको एक पीडित निर्माताले बताए ।
‘कारोबार छोराछोरीलाई गर्न दिएर उद्धव पौडेलजीले आफू बाहिर भएको बहाना गर्नु हुन्छ’, ती निर्माताले भने–‘पैसा माग्दा बिभिन्न बहाना बनाएर दुःख दिएका छन् ।’
गोपीकृष्ण फिल्मी टिभी पनि चलाएका पौडेलले नेपाली फिल्मको विज्ञापन बजाएर दिनु पर्ने पैसा पनि आफै कटाउने गरेका छन् । स्रोतका अनुसार पौडेलले आफ्नो टिभीमा कुनै कलाकारलाई अन्तर्वार्ता लिएमा पैसा लिने गरेका छन् ।
पौडेलको टिभीमा अन्तर्वार्ता दिँदा पैसा तिरेका कलाकारहरूले अब त्यो टिभीमा कहिल्यै आन्तर्वार्ता दिन नजाने पनि बताएका छन् ।
सुरुका दिनमा निर्माता र कलाकारका लागि गोपीकृष्ण मुभिज राम्रो मानिए पनि अहिले यो फिल्महल कलाकार र निर्माताका लागि ‘काल’ बनेको आरोप छ ।
अधिकांश फिल्म निर्माताहरूले गोपीकृष्ण मुभिजका मालिक पौडेल र उनको परिवारको व्यवहारका कारण पीडित बन्न पुगेको गुनासो गर्ने गरेका छन् ।
ठगिन थालेपछि निर्माताहरूले पौडेलको गोपीकृष्ण मुभिजले फिल्म पाउन छाडेको छ । फिल्म कम पाएपछि पौडेलले अरु वितरकमार्फत हात जोडेर नेपाली फिल्म ल्याउन थालेको एक वितरकले बताए ।
पौडेल र उनको कम्पनीको गलत नीति र रवैयाका कारण आजित बनेका कलाकार तथा निर्माताले गोपीकृष्ण मुभिजलाई ‘कालो सूची’मा राखेका पनि छन् ।
बाहिर खुलेर बिरोध गर्न नसकेका कलाकार र निर्माताहरूको विरोधले एक दिन विष्फोटको अवस्था ल्याउने निश्चित छ ।
गोपी कृष्ण मुभिजले एक दिन विश्वज्योति फिल्महलको जस्तो दुरावस्था व्यहोर्ने पक्का रहेको एक अनुभवी निर्माता तथा पुराना कलाकार बताउँछन् ।
सुरुका दिनमा जमलको विश्वज्योति फिल्महल पनि यस्तै टुप्पिएको थियो । केही वर्षको एकछत्र दबदबा राखेको विश्वज्योति फिल्महलप्रति अहिले कलाकार र निर्माताको खासै रुचि छैन । विश्वज्योति फिल्महल अहिले एक्लो र शून्य हुन पुगेको छ ।
यस्तै अवस्था आउँदैन भनेर गोपीकृष्ण मुभिज र उद्धव पौडेल कम्पनीले सोचेको छ भने त्यो गलत हुने फिल्म निर्माताहरुको दावी छ ।
निर्माता र कलाकार चुस्न पल्केका पौडेल र गोपीकृष्ण मुभिजको हविगत विश्वज्योतिकै हुने अवस्था देखिएको छ । राजधानीमा अहिले रामवीर मानन्धरले सञ्चालन गरेको अष्टनारायण फिल्महल नेपाली निर्माता र कलाकारहरूको लागि मलिलो बन्दै गएको छ ।
नेपाली फिल्मका निर्माताहरूका लागि राजधानीका फिल्महलहरूमध्ये अष्टनारायण हल पहिलो रोजाइमा पर्ने गरेको छ ।
अष्ट नारायण फिल्महलले निर्मातालाई बोलाइ बोलाइ संकलन भएको रकम समयमा दिने गरेको एक निर्माताले बताए ।
‘नेपाली फिल्मका निर्माता र कलाकारका लागि अष्ट नारायण फिल्महल धेरै राम्रो छ’, ती निर्माताले भने–‘अष्टनारायण हलका मालिक जस्तै मुलुकभरि पाँच वटा हल मालिक हुने हो भने नेपाली फिल्म र निर्माताहरू कहिल्यै गोपीकृष्ण मुभिज र उद्धव पौडेलको पछि लाग्नु पर्ने अवस्था रहने थिएन ।’















प्रतिक्रिया