– भोबिन्द्र शाह
बाजुरा, २२ भदौ । जिल्ला तहमा कुनै पनि गैरसरकारी संस्थाका कार्यक्रमहरुमा सहभागी नहुँनु भन्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई साता अघि जारी गरेको निर्देशनको बाजुराका निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले अवज्ञा गरेका छन् ।
मंगलवार सदरमुकाम मार्तडीमा युवा सञ्जाल नामक गैर सरकारी संस्थाद्धारा आयोजित गोष्ठीमा सहभागी भएर निमित्त प्रजिअ शाहीले मन्त्रालयको निर्देशन उल्लंघन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ भने हाल जिल्ला बाहिर छन् ।
गृह मन्त्रालयले सचिव स्तरीय निर्णय गरी यही भदौ १२ गते क्षेत्रीय प्रशासन कार्यालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि गैर सरकारी संस्थाका कार्यक्रमहरुमा सहभागी नहुँन लिखित निर्देशन जारी गरेको थियो ।
निमित्तको जिम्मेवारी पाएका सहायक प्रजिअ शाही युवा अभियान नामक अर्को गैसस समेतको सहकार्यमा उक्त गोष्ठीको आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आएका सेवाग्राहीको कामलाई थाती राख्दै उक्त गैससद्धारा आयोजित तीन सय भत्ता पाउने कार्यक्रममा सहभागि भएका थिए ।
निमित्त प्रजिअ शाही गैससको कार्यक्रममा सहभागी भएर मन्त्रालयको निर्देशन उलंघन गरेको भन्दै युवा परिषद अन्तर्गत गठित जिल्ला युवा समितिका अध्यक्ष युवराज शाहीले कार्यक्रममै बिरोध गरेका थिए ।
निमित्त क्षेत्रीय प्रशासक धर्मानन्द जोशीले मन्त्रालयको निर्देशन विपरीत प्रमुख जिल्ला अधिकारी र प्रशासन कार्यालय अन्तर्गतका कुनैपनि कर्मचारी गैससका कार्यक्रमहरुमा सहभागी भएको पाइए कडा कार्वाही हुने बताए ।













प्रतिक्रिया