काठमाडौँ, २० भदौ । काठमाडौँको दक्षिणभेग चोभारमा रहेको जलविनायकमा आज भक्तजनको घुइँचो लागेको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चौथीका दिन त्यहाँ जलविनायकको दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ । हिन्दु धर्मावलम्बीमा शुभ तथा मङ्गलकार्य गर्दा गणेशको पूजा नगरी पूर्ण नहुने जनविश्वास छ ।
काठमाडौँबाट करिब १० किलोमिटर दक्षिणतर्फ पर्ने उक्त स्थानमा आजको दिन गणेशको दर्शन तथा पूजा गरेमा पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास गरिन्छ ।
भगवान् शिवका पुत्रका रुपमा जन्मेका गणेश र कुमारकाबीच विश्व ब्रम्हाण्डको परिक्रमा गर्ने प्रतिस्पर्धामा गणेशले सहभागिता जनाउन नसकेपछि शिव पार्वतीको परिक्रमा गरी आफ्नो महत्वलाई स्थापित गरेपछि शिवले गणेशको पूजाबिना मङ्गल कार्य सिद्ध नहुने बरदान दिएको श्रीस्वस्थानीको कथामा उल्लेख गरिएको छ ।
मन्दिरका पुजारी ध्रुव कर्माचार्यले आजको दिन बिहानदेखि साँझसम्मै मन्दिर खुल्ला गरिने जानकारी दिनुभयो ।
स्थानीय समाजसेवी कन्हैया कुँवरका अनुसार काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट समेत भक्तजन दर्शनका लागि आएका छन् । उपत्यकाका चारवटा विनायकमध्ये जलविनायक एक हो । रासस












प्रतिक्रिया