
टीकापुर, १९ भदौ । स्थानीय उत्पादन र परिकारलाई महत्व दिनु पर्छ भन्ने सन्देश दिन टीकापुरमा गरिएको खिर महोत्सवमा एक हजार वढीको सहभागिता भएको छ ।
कैलालीको टीकापुरमा शनिबार भएको ‘टीकापुरमा खीर महोत्सव’ मा टीकापुर क्षेत्रका एक हजार वढी सर्वसाधारणको सहभागिता भएको हो । ‘कृषि र पर्यटनको विकास, हामी सबैको सहभागिता र प्रयास’ भन्ने नाराका साथ खीर महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवमा देशका विभिन्न जिल्लाबाट संकलन गरिएका १० भन्दा बढी जातका चामलको प्रदर्शनी तथा खीरको विक्री गरिएको थियो । टीकापुर पर्यटन विकास समितिका अध्यक्ष थर्कवहादुर शाहका अनुसार महोत्सवमा कैलाली जिल्लाको कृष्णभोग, सावा मन्सुली, सौठ्यारी र अन्डीको खीर, डोटीको जोरायल बासमतीको खीर, अछामको जडन धानको चामलकोे खीर, प्युठानको राधा धानको चामलको खीर, सल्यानको मार्सीको खीर, जुम्लाको कालीमार्सीको खीर दाङको तिल्कीको खीर सहित मकै, केरा, गहु, जौ र सावुदानाको खीरको खिर विक्री गरिएको थियो ।

खीर महोत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रमका साथै हस्तकला एवं स्थानीय उत्पादनहरुको प्रदर्शनी र विक्री स्टल पनि राखिएको थियो । ज्येष्ठ नागरिकलाई निशुल्क रुपमा खीर खुवाइएको थियो । खिर विक्रीबाट आम्दानी भन्दा पनि स्थानीय जातका चामलको संरक्षण गर्न महोत्सव आयोजना भएको अध्यक्ष शाहले वताए । सानो प्रति प्लेटको १० रुपैयाँका दरले वेचिएको खीर सर्वसाधारणले मिठो मानेर थपीपथी खाएका थिए ।

चामल ढिलो संकलन भएकोले भदौमा खीर महोत्सव गरेका शाहले आगामी वर्ष साउनै सो महोत्सव आयोजना गर्ने वताए । खीर महोत्सव आयोजना गर्न होटल ग्रिन एशियाका सञ्चालक समेत रहेका शाहले ७० हजार खर्च भएको जनाए । उत्साहजनक सहभागिताले खीर महोत्सव निरन्तर गर्ने प्रेरणा दिएको छ उनले वताए । टीकापुर पर्यटन विकास समितिका अध्यक्ष शाहले यसअघि गतवर्ष ढिक्री महोत्सव पनि गरेका थिए ।












प्रतिक्रिया