ललितपुर, १९ भदौ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका– १० टीकाथलीमा इटा बोकेको ट्रकले ढालेको पोलबाट लत्रिएको तारको करेन्ट लागेर मोटरसाईकल चालकको मृत्यु भएको छ ।
बा ४० प २०४० नम्बरको मोटरसाईकल चालक ३० वर्षीय रमेश श्रेष्ठको लत्रिएको तारबाट बगेको करेन्ट लागेर मृत्यु भएको सातदोबाटो प्रहरी प्रमुख नायब उपरीक्षक रामेश्वर यादवले जानकारी दिनुभयो ।
‘इटा बोकेको ट्रकको ठक्करबाट बिजुलीको पोल ढलेपछि लत्रिएको तारको करेन्ट लागेर मोटरसाईकल चालकको मृत्यु भएको हो’, उहाँले भन्नुभयो, ‘करेन्ट लागेर गम्भीर घाइते रमेश श्रेष्ठलाई तत्काल अस्पताल लगिए पनि बचाउन सकिएन ।’
चितवनबाट इटा लिएर शनिबार साँझ सात बजे आएको ना ६ ख ३२३२ नम्बरको ट्रकले नियन्त्रण गुमाइ बिजुलीको पोलमा ठोक्किएर पोल ढालेको थियो ।
प्रहरीले ट्रक र चालक वर्ष २६ का रामआधार चौधरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
नायव उपरीक्षक यादवले दुर्घटनाका दोषीलाई कारबाही गर्ने प्रतिवद्धता पीडित पक्षसँग आफूले गरेको बताउँदै आवेश र उत्तेजनामा नआउन सबैलाई अपील गर्नुभएको छ ।
‘पीडित पक्षलाई कानुन बमोजिम क्षतिपूर्ति दिलाउन पहल गर्नेछ’, उहाँले भन्नुभयो, ‘कुनै पनि पक्ष डराउनु पर्ने अवस्था छैन ।’
दुर्घटना भएपछि टीकाथली क्षेत्रमा शनिबार साँझ केही समय पीडित पक्षले तनाव गरेका थिए ।
उनीहरूले तनाव उत्पन्न गराएपछि तत्काल पुगेको प्रहरी टोलीले स्थितिलाई नियन्त्रणमा लिइ पीडितको पक्षको मन बुझाएर कारबाही अगाडि बढाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।












प्रतिक्रिया