काठमाडौं, १८ भदौ । सुदूरपश्चिम समाजको चौथो साधारणसभा सम्पन्न भएको छ ।
शनिबार राजधानीको कोटेश्वरमा सम्पन्न साधारणसभाले केशर सिंह साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुरेश भट्ट, महासचिवमा गोकुलराज पनेरु, सचिवमा लाल बहादुर बोहरा, कोषाध्यक्षमा कमानसिंह धामी र सदस्यहरुमा लोकराज भट्ट, मान बहादुर साउद, विसन नाथ, नविन चौधरी, सुदिप मार्कण्डे, कमानसिंह साउद, रामदत्त पन्त रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि एवं पूर्वमन्त्री छविराज पन्तले देश संघीयतामा गइसकेकाले प्रादेशिक संरचनामा क्षेत्रीय एकता तथा समावेशीताका लागि सुदूरपश्चिम समाजले आवश्यक भुमिका निर्वाह गर्नुपर्ने बताए ।
त्यसैगरि संरक्षक, समाजसेवी तथा सुप समाजका पूर्व अध्यक्ष माया प्रकाश भट्टले व्यवसायिक, पर्यटन विकासका साथसाथै समग्र सुदूरपश्चिम तथा देशव्यापी रुपमा सुप समाजले निस्वार्थ रुपमा सेवा गर्नुपर्नेमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष साउदले नयाँ कार्यसमितिले संस्थाको एजेण्डालाई अघि बढाउने बताए । ‘सुरुमा सुदूरपश्चिमका लोकसंस्कृति, रिति रिवाजमा समन्वयन गर्ने, उत्थान र विकासमा लाग्ने उद्देश्यका साथ यो संस्था २०६६ सालमा स्थापना भएको थियो,’ उनले भने- ‘अहिले सुदूरपश्चिमका काठमाडौंमा बसेका विद्धान, रिटायर्ड कर्मचारीको सहयोग लिएर सुदूरका विकास निर्माण तथा सम्भावनाहरुको बारेमा कुनै दलगत नभई निस्वार्थरुपमा नेताहरुलाई घचघच्याउने हाम्रो एजेण्डा हो । त्यही कुरालाई नयाँ कार्यसमितिले बृहत रुपमा अगाडि बढाउछ ।
कार्यक्रममा अध्यक्ष साउदले आफ्नो कार्यकालमा राजधानीमा रहेका सुदूरपश्चिमेलीबीच जनसम्पर्क बढाउने काम पनि गर्ने प्रतिबद्धता जनाए ।













प्रतिक्रिया