
– नरेश केसी
भैरहवा, १६ भदौ । रुपन्देहीको गोयन्का स्टिल प्रा.लि र एभरेष्ट रोलिंग इन्डस्ट्रीजले उपभोक्ता ठगेको भन्दै कारबाहिको माग गर्दै उपभोक्ता मन्च नेपाल रुपन्देहीले जिल्ला प्रशासनमा उजुरी दिएको छ ।
मन्चका अध्यक्ष लक्ष्मण बैदवार क्षेत्रीले जिल्ला बजार अनुगमन समिती तथा जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा यहि भदौं १६ गते निवदेन पेश गर्दै उपभोक्तालाई झुक्काई छड बेच्ने तथा ठग्ने उद्योगलाई कारबाहि गर्न भनेका छन् । मन्चको निवेदनमा भनिएको छ “रुपन्देहीकै गोयन्का स्टिल प्रा.लि र एभरेष्ट रोलिंग इन्डस्ट्रीजले छड अभावको मौका छोपी उपभोक्ता ठग्ने काम गरेको छ । गोयन्काले भारतीय गुणस्तरहिन छडमा आफ्नो कम्पनिको टयाग लगाएर विक्री वितरण गरिरहेको छ भने एभरेष्ट रोलिंगले अबैध ढंगले विक्री वितरण गरिरहेको छ । उपभोक्ता हित संरक्षण ऐन २०५४ विपरित कार्य गरेकोले ती उद्योगलाई तत्काल कारबाहि गर्न माग गर्दछौं ।” मन्चले आम उपभोक्ता ठग्ने उद्योगीलाई उपभोक्ता नियमावली २०५६ अनुसार कारबाहि गर्न माग गरेको हो ।
मन्चको उजुरी बुझेपछि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले अबैध ढंगले कारोबार गर्ने जो कोहीलाई पनि कुनै कसुर नराखी कारबाहि गर्ने जनाए । प्रमुख जिल्ला अधिकारी ढकालले भने “ मैले नापतौलत तथा गुणस्तर कार्यलयलाई अनुसन्धान गर्न भनेको छु । हाम्रो जिल्ला बजार अनुगमन समितीलाई पनि अनुसन्धानकोलागी निर्देशन दिएको छु । कालाबजारी र ठगी गर्नेलाई कारबाहि हुन्छ ।”
छडको अभावको मौका छोपी गोयन्का र एभरेष्टले गुणस्तरहिन भारतीय छड अबैधानिक ढंगले विक्री वितरण गर्दै उनीहरुले सरकारी कानुनको समेत धज्जी उडाएका छन् । गोयन्का स्टिलले अबैध तरिकाले भारतबाट छड आयत गरी सो छडमा आफ्नो टयाग लगाएर बेच्ने गरेको पाइएको छ । मार्केटेड बाई गोयन्का स्टिल भन्ने टयाग लगाएर भारतको गुणस्तरहिन छड विक्री वितरण भइरहेको छ । नेपालको छडको ग्रेड ५ सय हुने गरेकोमा भारतीय छड साढे ३ सय देखी बढीमा ४ सय हुने गरेको छ । त्यस्तो छडमा पनि गोयन्काले मार्केटेड बाईको नाममा गुणस्तरहिन छड विभिन्न हार्डवेयर मार्फत विक्रीवितरण गर्नेगरिरहेको छ । भारतीय छडमा टयाग लगाएर विक्रीमा राखिएको छड भैरहवाको हार्डवेयरहरुमा छयाप्छप्ती पाउन सकिन्छ । सो छड उपभोक्ताहरुले गोयन्का स्टिलको छड भनेर किन्ने गरेका छन् । यसरी भारतीय छडमा आफ्नो टयाग लगाएर बेच्नु गैर कानुनी भएको सिद्धार्थ निर्माण सामग्री एशोसियसनका वरिष्ठ उपाध्यक्ष राजेश खरेल बताउंछन् ।
अर्कोतीर पडसरीमा फयाक्ट्री रहेको एभरेष्ट रोलिंग मिलले अनाधिकृत रुपमा भारतबाट सिधैं छड लिएर विक्री गर्ने गरेको छ । एभरेष्ट रोलिंग इन्डस्ट्रिज प्रा.लिले पत्ती, ग्रील उत्पादन गर्ने बैधानिकता भएता पनि सो फयाक्ट्रीका सन्चालक अरुण गोयन्काले भारतबाट छड ल्याई एभरेष्ट रोलिंग इन्डस्ट्रीजको नाममा लाखौं मूल्यको बिलविजक जारी गर्ने गरेका छन् । एभरेष्टको ३०००२८४५६ नम्बरको पान नम्बरबाट जारी गरिएको बिल नम्बर ११५३ को बिल नम्बरले ओम शिव हार्डवेयर भैरहवालाई पठाएको १७ लाख ३० ह्जार ५ सय ९४ मूल्यको छड विक्रीले उसको अबैधतालाई पुष्टि गर्दछ । यो त उदाहरण मात्रै हो । स्रोतका अनुसार एभरेष्टले अहिले सम्म अरबौंको कारोबार गरेको बुझिएको छ । क्रेता ओम शिव हार्डवेयरका सन्चालकले एभरेष्टले भारतीय छड आफुहरुलाई दिएता पनि उपभोक्ताले सस्तो मूल्यको कारण सो छड खरिद गर्ने गरेको बताए । उनले भने उपभोक्ताले आएर छडको मूल्य सोध्छन् हामीले बताउंछौं जुन सस्तो छ त्यहि लान्छन् ।
यसरी सीमावर्ति क्षेत्र नेपालका बजारहरुमा अहिले पनि गुणस्तरहिन भारतीय छडको विगविगी बढेर गएपछि अरबौं रुपैया खर्चेर उद्योग सन्चालन गरिरहेका स्वदेशी उद्योग सन्चालकहरु चिन्तीत भएका छन् । नेपाली छडको प्रायाप्त उत्पादन हुदाहुदैं केही उद्योग र हार्डवेयरहरुले अवैध ढंगले गुणस्तरहिन भारतीय छड विक्री वितरण गर्दा स्वदेशी उद्योग मारमा परेको भन्दै नेपाल रोलिंग मील एशोसियसनका अध्यक्ष धुव्र कुमार श्रेष्ठको टोलीले प्रधानमन्त्री पुस्पकमल दाहाललाई भेटी ध्यानकर्षण समेत गराएका छन् ।
नेपालमा सबैभन्दा बढी छड उत्पादन गर्ने जगदम्बा स्टिल सहित पन्चकन्या, एसआर स्टिल, अम्बे स्टिल, गोयन्का स्टिल, लक्ष्मी स्टिल, काठमाण्डौं स्टिल, हामा स्टिल लगायत १६ वटा छड उत्पादक उद्योगहरु रहेका छन् । पन्चकन्या, एसआर अम्बे, गोयन्का रुपन्देहीमा छन् भने काठमाण्डौं र लक्ष्मी नवलपरासीमा रहेका छन् । केही समय अगाडी लक्ष्मी स्टिलले पनि भारतीय छडमा आफ्नो उद्योगको टयाग लगाएर बेचेको थियो । लक्ष्मीले जस्तै अहिले गोयन्काले भारतीय छडमा आफ्नो टयाग लगाएर बेच्ने गरेको हार्डवेयर व्यवसायी नै बताउंछन् । यहांका गणेश ट्रेडिंग, अष्टकालि हार्डवेयर नया सडक, ओमशिवशक्ति हार्डवेयर लुम्बिनीरोड, महाविर हार्डवेयर लुम्बिनीरोड लगायतले भारतीय छडको विक्री वितरणमा वर्चस्व जमाउदैं आएका छन् भने जिल्लाका अन्य हार्डवेयरले पनि भारतीय छड विक्रीवितरण गर्ने गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी ढकालले गोयन्का र एभरेष्ट रोलिंगको बारेमा नापतौल तथा गुणस्तर कार्यलयलाई बुझी प्रतिवेदन पेश गर्न लिखीत रुपमा निर्देशन दिएको समेत बताए । जिल्ला बजार अनुगमन समितीका संयोजक समेत रहेका रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले उपभोक्ता मन्च नेपाल रुपन्देहीले पनि किटानीका साथ गोयन्का र एभरेष्टले विभिन्न बहानामा उपभोक्ता ठगेकोले कारबाहि गर्न निवेदन दिए अनुसार छानविन शुरु गरिएको जनाए ।
नेपाल रोलिंग मिल एशोसियसनका सदस्य हरि न्यौपानेले भारतीय उत्पादनमा मार्केटेड बाईको नाममा होस् वा अन्य कुनै बहानामा आफ्नो कम्पनिको टयाग लगाएर बेच्नु पुर्णतया गैर जिम्मेवार भएको जनाए । अम्बे स्टिलका सन्चालक समेत रहेका न्यौपानेले भारतीय छडको गुणस्तर अत्यन्तै न्यून भएको समेत तर्क गरे ।















प्रतिक्रिया