११ कार्तिक २०८३, बुधबार

यी पूर्वमन्त्रीले किन तिर्न मान्दैनन् हेलिकोप्टर चढेको भाडा ? राज्यको पैसा लुट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishwendra Paswanकाठमाडौं, १७ भदौ । निवर्तमान जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख रुपैयाँ बक्यौता छ ।

सुरुमा साइकल चढेर चर्चामा रहेका मन्त्री पासवान एक महिनापछि गाडी चढ्न थालेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यसपछि जिल्लाका कार्यक्रम जाँदा प्रायजसो हेलिकोप्टर चढ्ने गर्थे । बहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवान मन्त्रीबाट बाहिरिएको एक महिना भइसकेको छ ।

तर, उनले भाडामा हेलिकोप्टर चढेको रकम अझै भुक्तानी भएको छैन । पासवानले मन्त्रालयको खर्च कम गर्ने तथा वातावरणमैत्री भन्दै सुरुमा साइकल चढेर मिडियामा प्रचारबाजी गरेका थिए ।

पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ नपाएपछि पासवान गौशालामा भाडाको घरमा बस्थे । गौशालादेखि मन्त्रालय उनले साइकलबाटै ओहोर–दोहोर गर्थे ।

पासवानको साइकल यात्रा एक महिनासम्म मात्र चलेको मन्त्रालयका एक कर्मचारीले बताए । ‘मन्त्रीज्यू करिब एक महिनासम्म त साइकलमा आउने–जाने गर्नुभयो’, ती कर्मचारीले भने, ‘त्यसपछि साइकल छाडेर गाडीमै आउने–जाने गर्नुभयो ।’

मितव्ययी भन्दै साइकलप्रेमी बनेका तत्कालीन मन्त्री पासवान एक महिनापछि गाडीमा र त्यसपछि हेलिकोप्टर प्रयोगमा अगाडि देखिएका हुन् ।

मन्त्री छँदा पासवानले सेनाको हेलिकोप्टर पटक–पटक प्रयोग गरेका थिए । मन्त्रालयका अनुसार आफ्नो कार्यकालमा उनको हेलिकोप्टर भाडा मात्र १७ लाख रुपैयाँभन्दा धेरै पुगेको थियो ।

तर, पछिल्लो दुईपटक हेलिकोप्टर चढेको भाडा तीन लाख ७२ हजार नौ सय १४ रुपैयाँ मात्र उनले नबुझाएका हुन् ।

पासवानले काठमाडौंदेखि गौर, राजापुर गोलठा भन्ने ठाउँमा जाँदा दुई घन्टा ३५ मिनेटको दुई लाख १६ हजार ६ सय ७० रुपैयाँ र काठमाडौं–सिरहा ओहोर–दोहोर गर्दाको एक घन्टा ४५ मिनेटको एक लाख ५६ हजार दुई सय ४४ रुपैयाँ भाडा रकम बुझाउन बाँकी रहेको सैनिक स्रोतको भनाइ छ ।

पासवानले धेरैजसो सामान्य तथा पार्टीको काममा जाँदा र केहीपटक सोलार उद्घाटन गर्न जाँदा हेलिकोप्टर प्रयोग गर्ने गरेको मन्त्रालय स्रोतले बतायो ।

हेलिकोप्टर भाडाका लागि मन्त्रालयमा निरन्तर ताकेता गर्दा पनि भुक्तानी नभएको सैनिक स्रोतले बतायो । सेनाको हेलिकोप्टर प्रयोग गरेपछि मन्त्री स्वयं वा मन्त्रालयले भाडा बुझाउनुपर्ने सेनाको भनाइ छ ।

जनसंख्या तथा वातावरण मन्त्रालयकी प्रवक्ता लक्ष्मी बस्नेतले तत्कालीन मन्त्री विश्वेन्द्र पासवानले सेनाको हेलिकोप्टर प्रयोग गरेको भाडा रकम मन्त्रालयले नतिर्ने बताइन् ।

मन्त्रीको भ्रमण खर्च प्रधानमन्त्री कार्यालयले बेहोर्ने व्यवस्था छ । ‘मन्त्रालयको बजेट निश्चित हुन्छ, सोहीअनुसार खर्च गर्नुपर्ने हुन्छ’, प्रवक्ता बस्नेतले भनिन्, ‘मन्त्रीज्यूले गर्ने भ्रमण खर्च मन्त्रालयले बेहोर्न सक्दैन । हेलिकोप्टर भाडा उहाँ आफैँले तिर्दा उत्तम हुन्छ ।’

पासवानले चढेको हेलिकोप्टर भाडा करिब १७ लाख रुपैयाँ पुगे पनि बक्यौताबाहेकको रकम पार्टी तथा कार्यकर्ता र निम्तो गर्नेले तिरेको मन्त्रालयका कर्मचारीको भनाइ छ ।