काठमाडौं, १६ भदौ । थरुहट तराई पार्टी नेपालले सांसद गोपाल दहितलाई जोडेर आएको समाचारप्रति असुन्तुष्टि जनाउँदै खण्डन गरेको छ ।
सो पार्टीका अध्यक्ष भनुराम थारुले बिहीबार विज्ञप्ति जारी गरेर दैनिक नेपाल डट कममा यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार गरेर प्रकाशित ‘प्रेमालाई दहितले किन दिए ज्यान मार्ने धम्की ?’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खण्डन गर्नुभएको हो ।
‘पार्टीका बरिष्ठ नेता गोपाल दहित एवं उपाध्यक्ष गंगा चौधरी (सत्गौंवा)लाई जोडेर दैनिक नेपालमा भदौ १६ गते प्रकाशन भएको ‘प्रेमालाई दहितले किन दिए ज्यानमार्ने धम्की ?’ विषयक सामाचारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष थारुले भन्नुभएको छ, ‘राजनीतिक प्रतिशोधका आधरमा आधात पु-याउने, बदनाम गराउने, सुनियोजित योजनाका साथ लगाइएको निराधार, कपोकल्पित, मनगढन्ते सामाचारप्रति खण्डन गर्दै हामी घोर भर्त्सना गर्दछौं ।’
समाचारमा गोपाल दहितले थारु कल्याणकारिणी उपत्यका समितिकी सदस्य प्रेमा चौधरीलाई ज्यान मार्ने धम्की दिएको उल्लेख थियो । प्रेमाले पनि आफ्नो फेसबुकमा सो कुरा उल्लेख गरेकी छिन् ।
राजधानीबाट प्रत्येक बिहीबार प्रकाशित हुने यूनाइटेड पोष्ट साप्ताहिकले आफ्नो अंकमा प्रकाशित समाचारलाई साभार गरेर दैनिक नेपाल डट कमले पत्रपत्रिका शीर्षकमा समाचार प्रकाशित गरेपछि सांसद दहित आवद्ध दलले समाचारप्रति चित्त दुखाएको हो ।












प्रतिक्रिया