
– झलक पाली
डोटी, १५ भदौ । डोटीमा अपाङ्गता, शिक्षा र मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको गैर सरकारी सँस्था युनाईटेड मिसन टु नेपाल (युएमएन) नाम गैर सरकारी सँस्थाले जिल्लाका १० वटा विद्यालयलाई दुई सय थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि डोटीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतममार्फत जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीलाई एक थान कम्प्युटर हस्तान्तरण गरी उद्घाटन गरिएको थियो । ‘डेल’ ब्राण्डका डेस्कटप कम्प्युटरहरु र त्यसका आवश्यक जडान सामाग्रीहरु जिशिअमार्फत सम्बन्धीत विद्यालयका प्रधानाध्यापकलाई प्रति विद्यालय २० थानका दरले हस्तान्तरण गरिएको छ ।
युएमएनले प्रति विद्यालयमा ८ लाखका दरले कम्प्युटर तथा आवश्यक जडान सामाग्रीहरु, आवश्यक प्राविधिक तालिम तथा ढुवानीमा सामाग्री ढुवानीमा खर्च गरेको जनाएको छ ।
युएमएनले डोटीमा सञ्चालन गरिरहेको कम्प्युटर ल्याव सहयोग कार्यक्रम अन्तरगत कम्प्युटर वितरण गरिएका विद्यालयहरुमा साजेन्द्रेश्वर उच्च मा.वि. खिरसैन, राधाकृष्ण उच्च मा.वि. (गोपघाट) लाटामाण्डौ, केदारेश्वर उच्च मा.वि. कपल्लेकी, भगवती उच्च मा.वि. (तलारा) लामीखाल, सरस्वती उच्च मा.वि. रानागाउँ रहेका छन् । यसैगरी सिताराम उच्च माध्यमिक विद्यालय (उच्चाकोट) जिजोडामाण्डौ, शारदा उच्च मा.वि. मुड्भरा, विरेन्द्र उच्च मा.वि. घाङल, बर्छैन उच्च मा.वि. बर्छैन र रामपुर उच्च मा.वि. (बुडर) छतिवनलाई कम्प्युटर सहयोग गरिएको हो ।
जसमध्ये ७ वटा विद्यालयमा विद्युतको राष्ट्रिय प्रसारण लाईन रहेको र बाँकी ३ वटा विद्यालयमा सोलारबाट कम्प्युटर जडान गरिने युएमएन डोटी क्लष्टरका शिक्षा र अपाङ्ता सम्बन्धी कार्यक्रम अधिकृत हेमराज जोशीले जानकारी दिए ।
ति दश विद्यालयका २ हजार ५ सय ८१ छात्र र २ हजार ५ सय ३७ छात्रा गरी कूल ५ हजार १ सय १८ विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
वर्तमान परिवेशमा डिजिटल शिक्षामा रहेको खाडल भर्न र सामुदायिक विद्यालयका विद्यार्थीहरुको पहुँच बढाउने मूख्य उद्धेश्यले कम्प्युटर सहयोग हस्तान्तरण गरिएको युएमएन डोटी क्लष्टरका टिम लिडर धनमाया गुरुङले जानकारी दिईन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमूख अतिथि एवं डोटीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतमले कम्प्युटर प्राप्त गर्नु मात्रै उपलब्धी नभई त्यसको प्रभावकारी उपयोगमा जोड दिनुपर्ने औंल्याए ।
जिल्ला शिक्षा समितिका संयोजक समेत रहनुभएका प्रमूख अतिथि गौतमले अनुसाशनपूर्वक विधि र पद्दतीको विकास गरी कम्प्युटर शिक्षाको सक्दो बढी लाभ लिने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कम्प्युटर हस्तान्तरण कार्यक्रमका अध्यक्ष एवं जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले अहिलेको परिस्थितीमा कम्प्युटर शिक्षा अनिवार्य भईसकेकाले विद्यालयमा युएमएनले गरेको सहयोगले जिल्ला शिक्षा कार्यालयलाई नै ठूलो मद्दत पुगेको भन्दै सहयोगी सँस्थालाई विषेश धन्यवाद दिएका थिए ।
उनले भने- ‘कम्प्युटर प्राप्त गर्ने विद्यालयहरुका लागि यो ठूलो अवसर हो, यसको सक्दो प्रयोग गरी लाभ लिनुहोस्, सहयोगी सँस्था युएमएनलाई विशेष धन्यवाद !’
कम्प्युटर भनेको प्राविधिक कुरा भएकाले प्राविधिक दक्षताको पनि आवश्यकता पर्ने भएकाले यसको सहि सदुपयोग गर्न सम्बन्धीत विद्यालयका प्रधानाध्यपकहरुमा जिशिअ खत्रीले विशेष अनुरोध गरेका थिए ।
कम्प्युटर मात्रैले नपुग्ने भन्दै इन्टरनेट सेवा जडान गरि शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय लगायत आवश्यक अन्य विभिन्न वेवसाईटबाट नयाँ-नयाँ कुराको ज्ञान लिन सक्ने वातावरण निर्माणमा लाग्न उनले आग्रह गरे ।












प्रतिक्रिया