काठमाडौं, १५ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डीएसपी रवीन्द्र रेग्मी फाइल पल्टाउन व्यस्त थिए ।
एक युवती नमस्कार गर्दै कोठामा छिरिन् । उनले इसारामा सोफामा बस्न भने र आफ्नै काममा व्यस्त हुन थाले । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
बस्न असहज मानेकी युवतीको भावभंगीमा देखेपछि रेग्मीले फाइल थन्क्याए र सोधे– भन्नुहोस् के काम थियो ?
‘५ वर्षअघि दिल्लीमा बेचिएकी थिएँ, मलाई बेच्नेविरूद्ध उजुरी दिन आएकी ।’
रेग्मीले विवरण टिप्न सहयोगीलाई बोलाए । युवतीले सुनाउन थालिन्, ‘५ वर्षअघि राजकुमार भुजू भन्ने व्यक्तिले मलाई सुनौलीमा कपडा किन्न जाऊँ भनेपछि उनीसँगै हिडेँ । दिउँसो ३ बजे कलंकीमा गएर भैरहवा जाने बस चढ्यौ । भैरहवा हुँदै सुनौली पुगेर होटलमा बस्यौ । उनले चिसो खाउँ भने । चिसो पिएको केही समयपछि मलाई के भयो थाहै भएन । आँखा खुल्दा म दिल्लीको कुनै कोठामा रहेछु । मलाई उसले साढे तीन लाखमा बेचेको रहेछ ।’
युवतीको बयानअनुसार ५ वर्ष यौनकर्मीको रूपमा काम गरेपछि बुढी भइ भन्दै कोठी सञ्चालिकाले निकालेपछि दिल्ली, गोरखपुर, रक्सौल हुँदै उनी काठमाडौं आएकी रहिछन् । बिक्री गर्ने व्यक्ति रूपन्देही पठौलीका थिए ।
‘त्यसलाई चिन्नुहुन्छ ?’ प्रहरीको जिज्ञासामा ती युवतीले टाउको हल्लाएर चिन्छु भनिन् । परिसरले रूपन्देही प्रहरीलाई हुलिया र ठेगनासहित तत्काल पक्राउ गर्न पत्र पठायो ।















प्रतिक्रिया