काठमाडौं, १५ भदौ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएपछि केही बेर तनाव उत्पन्न भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
दुई नेताबीच चर्काचर्की परेपछि प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गर्नुपरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
दुवै नेताहरू रातोपिरो हुँदै बाझाबाझ गरिरहँदा बैठकमा सहभागी कांग्रेस र माओवादी नेताहरू भने मौन थिए । एमाले नेताहरूले भने आफ्ना उपाध्यक्ष रावललाई साथ दिँदै निधिको आलोचना गरेका थिए ।
कसरी भयो विवाद ?
तीन दल बैठकमा एमाले उपाध्यक्ष रावलले प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्र सार्वजनिक गर्न पहिले माग गरेका थिए ।
उनले एमालेले संसदमा पनि सो पत्र सार्वजनिक गर्न माग गरिसकेको भन्दै तीन दलको बैठकमा पनि पत्र सार्वजनिक गर्न भने ।
रावलले त्यस्तो माग गर्नेबित्तिकै उपप्रधानमन्त्री निधि नै बोल्न कस्सिए ।
उनले भने, ‘प्रधानमन्त्रीको विशेष दूतका रूपमा म भारत गएको हुँ, भारतीय प्रधानमन्त्रीलाई सामान्य शिष्टाचार र भ्रमणका विषयमा पत्र दिइएको हो, त्यसमा अन्य केही पनि छलफल भएको छैन ।’
निधिको त्यस्तो जवाफपछि रावल फेरि बोले । उनले भारतस्थित नेपाली दूतावासले ४ भदौ (२० अगस्ट) मा निकालेको वक्तव्यको दोस्रो बुँदा पढेर सुनाए ।
सो बुँदामा ‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा नेपालका उपप्रधानमन्त्रीले नेपालका सबै जनता र नयाँ सरकारको प्राथमिकता संविधान संशोधन भएको र त्यस विषयमा पनि कुराकानी भएको उल्लेख’ थियो ।
रावलले वक्तव्यको सो ड्राफ्ट पढेर सुनाएपछि निधिले यस्ता विषय सामान्य हुने भन्दै दुई छिमेकी देशबीच छलफल हुनसक्ने बताएका थिए ।
उनले संविधान बनाउने वेला दलहरूले विभिन्न ‘डोनर’सँग बसेर छलफल गरिएको, कतिपय अवस्थामा त्यस्ता डोनरको ड्राफ्ट नै पनि स्वीकार गरिएको बताएपछि बैठक एकाएक तात्तिएको एमाले सचिव ज्ञवालीले बताए ।
‘निधिजीले संविधानबारे डोनरहरूसँग छलफल गरिएको, कतिपय अवस्थामा ती डोनरको ड्राफ्ट नै स्वीकार गरिएको बताउनुभयो’, निधि–रावल बाझाबाझबारे एमाले सचिव ज्ञवालीले भने, ‘त्यसपछि रावलजी पनि आक्रोशमा आउनुभयो । नेपालको संविधान नेपालीले बनाएको हो, त्यस्तो कसैले फन्डिङ गरेको छैन, छ भने प्रमाण ल्याउन भन्नुभयो ।’
रावलको त्यस्तो भनाइपछि पुनः निधिले आफूसँग त्यस्तो प्रमाण रहेको बताए ।
निधि–रावल झगडाको कांग्रेस नेता रामचन्द्र पौडेलले पनि पुष्टि गरेका छन् ।
‘निधिजीको भारत भ्रमणका विषयमा भएका विभिन्न कुराकानीबारे एमाले नेता रावलले प्रश्न उठाउँदा उहाँहरूबीच व्यक्तिगत वादविवाद भयो’, पौडेलले भने, ‘जवाफमा निधिले विदेशी सहायता कसलाई दिएका छैनन् भन्नुभयो, त्यत्तिकैमा केहीबेर बैठक तात्तिहाल्यो ।’
प्रधानमन्त्रीले गर्नुप-यो हस्तक्षेप दुई नेताबीच विवाद बढ्दै गएपछि प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरी साम्य पारेको सहभागी एमाले नेता प्रदीप ज्ञवालीले बताए ।
‘उहाँहरू चर्काचर्की गर्न थालेपछि प्रधानमन्त्रीले झगडालाई साम्य पार्नुभयो’, ज्ञवालीले भने ।
प्रधानमन्त्रीले संविधान नेपाली जनताले बनाएको र त्यसका लागि कतिपयले सुझाब दिए होलान्, त्यो अलग कुरा हो, तर ड्राफ्टको रूपमा स्वीकार गर्ने र फन्डिङ लिने काम नभएकाले विवादमा नआउन आग्रह गरेका थिए ।
प्रधानमन्त्रीको त्यस्तो भनाइपछि चर्काचर्कीमा पुगेका नेताहरू शान्त भएका थिए ।















प्रतिक्रिया