काठमाडौँ, १४ भदौ । व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिका सभापति रवीन्द्र अधिकारीले मुलुकमा बढ्दै गएको सडक दुर्घटना न्यूनीकरणका लागि वैज्ञानिक यातायात व्यवस्थाको खाँचो रहेको औँल्याउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा सभापति अधिकारीले नेपालमा वैज्ञानिक यायायात व्यवस्था लागू गर्ने कुरामा सरकारले ध्यान दिनुपर्ने बताउँदै अब नयाँ रणनीति र दूरदृष्टिका आधारमा यातायातसम्बन्धी नयाँ कानुन बनाएर त्यसको कडाइका साथ सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित एवम् उत्तरदायी बनाउन प्रभावकारी छाता सङ्गठन वा प्राधिकरण निर्माण गरी सवारीसाधनलाई नियमित जाँच गर्नुपर्ने बताउनुभयो ।
गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले सवारी दुर्घटनामा सडकको बिग्रदो अवस्था तथा सवारी चालकको लापरबाही नै मुख्य कारण भएको बताउँदै क्षमताभन्दा बढी यात्रु बोक्नु, पुराना सवारीसाधन हुनु, सडकको स्तर अत्यन्तै दयनीय हुनु, आलोपालो प्रणाली बिगबिगी दुर्घटनाको अर्को कारण भएको विचार व्यक्त गर्नुभयो ।
यातायात विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले विगतमा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई बढीमा रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको बताउँदै यसलाई अब दश गुणासम्म वृद्धि गर्नका लागि छलफल भइरहेको बताउनुभयो । उहाँले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन पर्याप्त कानुन भएको उल्लेख गर्दै सम्बन्धित पक्षले यसको पालना नगरेकाले दुर्घटना बढेको हो भन्नुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले गृह मन्त्रालय, सडक विभाग र यातायात विभागको समन्वय हुन नसक्दा व्यवसायीलाई कठिनाइ भएको बताउँदै अधिकार सम्पन्न एउटा निकाय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । रासस













प्रतिक्रिया