११ कार्तिक २०८३, बुधबार

कलबाइपासको डरलाग्दो सञ्जाल , सुजाताको जवाइँसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

call-baipasकाठमाडौं, १४ भदौ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका ज्वाई बंगलादेशी नागरिक रुवेल चौधरी कल बाइपास काण्डमा नेपालमा फँसेपछि रातारात बंगलादेश भगाइए । चौधरी भागेपनि काठमाडौंमा कलबाइपासको डरलाग्दो सञ्जाल भत्किएन । बरु, अझै बढ्यो ।

झोला व्यापारको आवरणमा कल बाइपास केन्द्र चलाइएका एक व्यक्तिलाई प्रहरीले अन्तिम साउनमा पक्राउ गरेपछि सञ्जालको बारेमा खुलासा भएको थियो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

पेप्सीकोलाबाट काभ्रे, धुलिखेल–९ का २८ वर्षीय केदार अछामी र सिन्धुपाल्चोक, चौतारा–९ का २६ बर्षीय सुमन श्रेष्ठ पनि कल बाइपासको अभियोगमा प्रहरीको फन्दामा परेपछि काठमाडौंमा अरबौंको ठगी भइरहेको तथ्य खुल्न आएको हो ।

अन्तर्राष्ट्रिय गिरोहको साँठगाँठमा काठमाडौंमा अबैध कल बाइपास केन्द्र चलाइरहेका उनीहरू अत्याधुनिक उपकरणसहित फेला परेका थिए । बानेश्वर, शंखमूल र पेप्सीकोलामा लिएका कोठामै कल बाइपास संचालन गर्ने उपकरण जडान गरेर धन्दा चलाइरहेका थिए। उनीहरूले दराजमाथि फल्स बटन बनाई ती उपकरण लुकाएका थिए।

उनीहरूले बंगलादेशी नागरिकको सहयोगमा उक्त कल सेन्टर चलाउँथे । मुख्य अभियुक्त सुमन श्रेष्ठले तीनै ठाउँका कल बाइपास सेन्टर मोटरसाइकलबाट अनुगमन गर्ने गरेको अनुसन्धानले खुलाएको छ । बिगत तीन महिनादेखि बानेश्वर, शंखमुल, पेप्सीकोलालगायतका क्षेत्रमा अबैध अन्तर्राष्टिय कल बाइपास संचालन भइरहेको सूचना प्रहरीकहाँ पुगेको थियो ।

अवैध कल बाइपासको धन्दामा दुई बर्षअघि पक्राउ परी धरौटीमा छुटेका एक बंगलादेशी मूलका नेपाली नागरिक सोही कान्डमा फेरि पक्राउ परेका छन् । अवैध कल बाइपासको धन्दा गरेको आरोपमा जावेद खानसहित उनका साथीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको फन्दामा परेका हुन् ।

ताहाचलस्थित भूषण श्रेष्ठ तथा सामाखुसी टाउन प्लानिङस्थित किरण दर्शनको घरमा फ्ल्याट भाडामा लिएर कल बाइपासको काम गर्दै आएका खानसहित उनका सहयोगी दिवाकर नकर्मी, नवीन कायस्थ र जयराम गौतम पक्राउ परेका थिए । उनीहरूमध्ये नकर्मी खानको व्यावसायिक साझेदार थिए भने कायस्थ कल बाइपास हुने ठाउँको जिम्मेवारी लिने व्यक्ति र गौतम सिमकार्ड मिलाउँथे ।

भिओआइपी प्रविधिमा प्रयोग हुने सामान, नेपाल टेलिकमका तीन सय ९३ र एनसेलका ४४ सिमकार्डबाट उनीहरूले कलबाइपासको धन्दा चलाएको अनुसन्धानले खुलाएको छ । खानको संलग्नता अन्तर्राष्ट्रिय गिरोहसँग रहेको सिआइबीले जनाएको छ । हुन्डी र मनी ट्रान्सफरमार्फत कारोबार भिओआइपीका उपकरण वैधरूपमा ल्याउन नपाउने भएकाले उनीहरूले अनलाइनमार्फत् खरिद गरी कार्गोमार्फत् नेपाल ल्याएका थिए ।

बिभिन्न व्यक्तिका नागरिकता, लाइसेन्स तथा पासपोर्ट प्रयोग गरी उनीहरूले सिमकार्ड निकालेका थिए। पैसा लेनदेन पनि प्रत्यक्ष नभई हुन्डी र मनी ट्रान्सफरमार्फत् गर्दैआएका थिए। दुई वर्षदेखि फरार प्रमुख अभियुक्त जावेद एक लाख धरौटीमा छुटेका थिए ।

२०७० साउन २ गते सिआइबीले उनलाई ग्रान्डी अपार्टमेन्टमा कल बाइपास चलाएको आरोपमा उपकरणसहित पक्राउ गरेको थियो ।

सो मुद्दामा फैसला गर्दै अदालतले उनलाई दुई बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। अन्य अभियोगमा पनि फरार जावेदविरुद्ध भिओआइपीका अन्य मुद्दामा पनि छन ।

२०७१ असार ६ गते उनका सहयोगीलाई प्रहरीले बसुन्धाराबाट पक्राउ गरेको थियो । हेटौँडामा सुरज जोशीलगायतसँग मिलेर कल बाइपास गरेका थिए । सीआइबीको अपरेशन ‘भ्वाइस फक्स’ मार्फत सञ्जालको बारेमा जानकारी भएको थियो ।

सिआइबीले अवैध भिओआइपीबिरुद्ध हालसम्म ९१ स्थानमा गरेको कारबाहीमा नेपाली १०६ र विदेशी ३१ गरी १३७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ।

पक्राउ अभियुक्तबिरुद्ध ११ अर्ब४८ करोड ४२ लाख ६६ हजार ८ सय ७४ को बिगो माग दाबीसहित अदालतमा मुद्दा दायर भएको छ । हालसम्म बिभिन्न दुरसंचार कम्पनीका २२ हजार सिम कार्ड र आधुनिक उपकरणहरू समेत जफत गरिएको छ ।

नेपाल टेलिकम, एनसेल, युटिएल, सिजी टेलिकम, स्मार्ट टेल र नेपाल स्याटेलाइट टेलिकमले मात्र नेपालमा अन्तर्राष्ट्रिय गेटवेको अनुमति पाएका छन्। यी बाहेक गेटवेबाट हुने अन्तर्राष्ट्रिय कललाई नेपालमा अवैध मानिन्छ। कल बाइपासबाट राजश्व चुहावटसँगै संगठित अपराधीको चलखेल सहज भएको प्रहरीले जनाएको छ ।