काठमाडौं, १४ भदौ । भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन ।
सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन । गोरखा पत्र दैनिकले समाचार छापेको छ ।
धरहराको अवधारणागत नक्सा तयार गर्ने आर्टिकेक्ट इन्जिनियर मनोहर राजभण्डारीले आफूहरूले तयार पारेको नक्सा पुरातत्व विभागलाई बुझाइसकिए पनि त्यसमा विभागबाट थप कुनै प्रतिक्रिया वा सुझाव नआएको बताए ।
पुरातत्व विभागका अधिकारीको भनाइ भने उनको भनाइसँग मेल खाँदैन । विभागका प्रवक्ता घनश्याम उपाध्याय भन्छन्, सोही कम्पनीलाई धरहराको टोपोग्राफिक डिजाइन फाइनल गर्नका लागि एक महिनाको अवधि दिइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राई भने धरहरा नवनिर्माणका लागि तयार भएको डिजाइन मन्त्रिपरिषद्मा प्रस्तुत नै हुन नपाएको जानकारी दिन्छन् ।
अब बन्ने आधुनिक धरहराको लागि गोश्वारा हुलाक कार्यालय, टक्सार विभाग र ऐतिहासिक सुन्धारालाई समेत समेटेर करिब ४२ रोपनी जग्गा ओगट्ने गरी डिजाइन तयार भएको छ ।
अनुमानित तीन अर्ब रुपियाँको लागतमा धरहराको नवनिर्माण गरिने र त्यसका लागि मै बनाउँछु मेरो धरहरा नारा दिएर नेपाली जनतासँग सहयोग आह्वान समेत भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले एकमहिनाको तलब धरहरा निर्माण कोषमा जम्मा गराई सुरु भएको धरहरा निर्माणमा जनसहभागिता अभियान समेत अहिले सुसुप्त अवस्थामा छ ।
नेपाली नागरिकबाट उठ्ने रकम धरहरा निर्माणका लागि नपुग भएमा बाँकी रकम सरकार र नेपाल टेलिकमले ब्यहोर्ने सहमति भएको छ ।















प्रतिक्रिया