-माधब न्यौपाने
भैरहवा, १३ भदौ । श्री रण अम्बिका शाह आँखा अस्पतालको नामले सिद्धार्थनगर भैरहवामा संचालित यस क्षेत्रकै ठुलो आँखा अस्पतालले अस्पताल अगाडिको सडक मिचेर पर्खाल बनाएको तथ्य बाहिर आएको छ ।
अस्पतालले आफ्नो भवन निर्माण पश्चात भवन वरिपरी पर्खाल लगाउँदा सडक मिचिएपनि पछि सडक निर्माण हुँदा उक्त पर्खाल हटाउनु पर्नेमा अस्पतालले आनाकानी गरिरहेका कारण केही समय पहिला निर्माण भएको अस्पताल अगाडिको रंगशाला रोडले अझै पूर्णता पाउन सकेको छैन ।
मापदण्डमा उल्लेख भएअनुसार सडकको बीच भागबाट एक तर्फ ४१ फिट र अर्को तर्फ ४१ फिट गरी ८२ फिटको सडक निर्माण हुनु पर्नेमा अस्पतालले करिब १६ देखि २० फिट सम्म सडक मिचेर अस्पतालको पर्खाल लगाएका कारण निर्माण भएको उक्त सडकले अझैपनि पूर्णता पाउन नसकेको हो ।
वि.स. २०४० सालदेखि नेपाल नेत्र ज्योति संघ र श्री रण अम्बिका शाह आँखा अस्पतालको नाममा संचालित हुँदै आएको उक्त अस्पतालले सडक मिचेर बनाएको पर्खाल हटाउनको लागि विभिन्न निकायबाट अनुरोध गर्दापनि कहिले के कहिले के बहानामा आलटाल गरिरहेको खुलेको छ ।
आफ्नो कमजोरीलाई सुधार गरी समयमै सडक निर्माण कार्यमा सहयोग गर्नुपर्ने अस्पतालले आफ्नो पहुँचका आधारमा आनाकानी गरेको समेत खुलेको छ ।
सडक निर्माणको क्रममा सिद्धार्थनगरपालिकाले उक्त पर्खाललाई हटाउनु पर्नेमा अस्पताल व्यवस्थापन समितिको सिद्धार्थनगरपालिका संग राम्रो सम्बन्ध भएका कारण अझैपनि सो पर्खाल नहटेको पाइएको हो ।
यस विषयमा रंगशाला रोडमा अवस्थित स्थानीय तथा व्यवसायी भुपेन्द्र के.सी.का अनुसार सडक निर्माणको क्रममा नगरपालिकाको मापदण्ड अनुसार आफुहरुले जग्गा छोडेको भएपनि आँखा अस्पतालले आवस्यक जग्गा अतिक्रमण गरी पर्खाल लगाएको कुरा यथार्थ रहेको बताए ।
तर अस्पताल व्यवस्थापन समितिले आफ्नो कमजोरीलाई अझैपनि लुकाउन खोज्दै छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले अस्पतालले सडक अतिक्रमण गरेको छ भन्नु वाइयात कुरा रहेको दावी गर्दै यस विषयमा अन्य केही बोल्न खोजेनन् ।
ट्राफिक व्यवस्थापनमा समस्या
यसरी अस्पतालले मनोमानि रुपमा अस्पतालको पर्खाल बनाइ हटाउन नमान्दा निकै व्यस्त सडकमा ट्राफिक व्यवस्थापनमा पनि समस्या थपिएको छ ।
अस्पताल अगाडिको सडक छेउमा नगरपालिकाले पार्किङको लागि व्यवस्था गरेपनि एकातिर अस्पतालले सडक मिचेर आफ्नो संरचना निर्माण गरिदीँदा साँघुरो सडक अर्कोतिर दैनिक जसो अस्पताल आउने सयौं विरामीहरुलाई समेत अस्पतालले अस्पताल भीत्र खाली जग्गा भएरपनि पार्किङको व्यवस्था नगरिदिँदा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता भएका कारण सडकमा अहिले ट्राफिक व्यवस्थापनमा निकै समस्या देखिएको छ ।
अझ अनौठो कुरा त अस्पतालले यति धेरै सडक अतिक्रमण गर्दा सम्बन्धको आधारमा चुप रहेको नगरपालिकाले ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै अस्पताल अगाडि ठेला संचालन गरी आफ्नो दैनिकी चलाउने व्यवसायीहरुलाई उक्त क्षेत्रबाट विस्थापित गर्नको लागि चलखेल सुरु गरेको छ ।
सोही आधारमा ट्राफिक प्रहरीले समेत ट्राफिक व्यवस्थापनको कामलाई अगाडि बढाएको भन्दै अन्य क्षेत्रमा भन्दा बढि सोही क्षेत्रमै ठेला व्यवसायीलाई दुख दिएको समेत ठेला व्यवसायीहरुको गुनासो छ ।
ट्राफिक व्यवस्थापनमा सिद्धार्थनगर भित्र निकै कार्यहरु गर्नुपर्ने भएपनि वास्तविकता तर्फ नभइ सुराकिको आधारमा काम गर्दा ट्राफिक प्रहरीको यो अभियानपनि सफल हुन्छ या हुँदैन भन्नेमा आशंका देखिन्छ ।
उक्त सडक सिद्धार्थ रंगसाला जाने सडक भएका कारण यसै त व्यस्त सडकको रुपमा चिनिन्छ भने हालै सरकारले सिद्धार्थ रंगशाला लाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने घोषणा गरी काम सुरु गरेसंगै अझ सवारी आवतजावतमा बृद्धि भएको छ ।
एडिबीको मापदण्ड लागु भएन
उता सडक निर्माणमा अनेक बहानामा मापदण्ड मिचिएपछि सिद्धार्थ नगरपालिकाले एसियाली विकास बैंक (एडिबी) को मापदण्ड विपरित काम गरेको समेत प्रष्ट भएको छ ।
एडिबीकै सहयोगमा सिद्धार्थनगरको विकास हुने क्रम चलिरहेका बेला यसरी विभिन्न क्षेत्रमा सडक मिचिएका संरचनालाई व्यवस्थीत गर्ने काममा नगरपालिकाले समेत आनाकानि गरेपछि एडिबीको उक्त रकम सहि सदुपयोग नहुने होकी भन्नेमा सिद्धार्थनगरवासीहरुले आसंका व्यक्त गरेका छन् । आँखा अस्पतालले सडक मिचेर आफ्नो संरचना निर्माण गरेपछि त्यसलाई हटाउन नसकेको एक सामान्य उदाहरण मात्र हो । बजारमा यस्ता खालका अधुरा कामहरु प्रसस्त मात्रामा देख्न सकिन्छ ।
सिद्धार्थनगर नगरपालिका भीत्र मापदण्ड नै तोकी पक्की सडक, पक्की नाला, फोहर व्यवस्थापन लगायत सामाजिक सुधारका कामहरु समेत गर्ने भनी एडिबीको १ अरब ७४ करोड रकम प्राप्त भएको भएपनि अहिले एडिबिको योजना अनुसारका सडकहरु निर्माण भएका छैनन् ।
यतिमात्र नभई एडिबीले सिद्धार्थनगरको विकासका लागि थप २ अरब सहयोग गर्ने काम पनि अन्तीम चरणमा पुगेको छ । तर सिद्धार्थनगर नगरपालिकाले माल पाएर चाल नपाएको जसरी सो रकमलाई एडिबीको योजना अनुसार सदुपयोग गर्नमा चुकेको छ ।
सडक निर्माणको क्रममा सडक अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउने क्रममा नगरपालिकाले नातागोता लाई प्राथमिकता दिएको खुलेको छ ।
नयाँसडक देखि पुर्व जनकपथको सडकमा नगरपालिकाका केही कर्मचारी तथा इन्जीनियरको घर पर्ने भएका कारण अहिले सो सडकमा नगरपालिकाले मापदण्ड विपरित काम गर्ने सडयन्त्र गरिरहेको खुलेको छ ।
साथै विभिन्न कारण देखाइ गल्लामण्डी देखि एयसपोर्ट सम्मको सडकलाई पनि मापदडण्ड अनुसार चौडा गर्नमा नगरपालिकाले आनाकानी गरिरहेको पाइएको छ ।
यता सिद्धार्थनगरपालिकाका कार्यकारी अधिकृत बिष्णुदत्त गौतमले आँखा अस्पतालले सडक मिचेको विषयमा रंगसाला रोड आफु आउनु पुर्व नै वनेको हुँदा त्यती जानकारी नभएको बताउँदै उक्त सडक एडिबीको मापदण्ड अनुसार पुनः निर्माण गर्ने गरी एडिबीको थप लगानीमा प्रस्तावित भएको हुँदा आगामी समयमा अस्पतालले सडक मिचेर दिवाल लगाएको भए भत्काएरै भएपनि सडक निर्माण गरिने बताए ।
अन्य सडकको विषयमा उनले जनकपथ र गल्लामण्डिको सडकमा पनि एडिबीको थप लगानी पश्चात मापदण्ड अनुसार सडक अतिक्रमण गरिएका संरचनाहरु भत्काएर भएपनि सडक निर्माण सम्पन्न गरिने बताउँदै सडक आसपासका संरचनाहरु निर्माण हुँदाको समयमा एउटा मापदण्ड तर हाल नयाँ मापदण्ड भएका कारण संरचनाहरु भत्काउनमा केही समस्या भने आएको बताए ।













प्रतिक्रिया