काठमाडौँ, १३ भदौ । नेपाल माताको ७५ फिट अग्लो अष्ट धातुको मूर्ति स्थापनाका लागि प्रत्येक नागरिकबाट कम्तीमा रु एक सहयोग माग गरिएको छ ।
कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिकास्थित ऐतिहासिक शारदापीठ झम्केनीधाममा सो मन्दिर निर्माणका लागि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले विभिन्न जिल्ला हुँदै उपत्यकामा पदयात्रा गरी सहयोग जुटाउन सुरु गर्नुभएको हो ।
मन्दिरमा ७५ जिल्लाको प्रतिनिधित्व गराउने उद्देश्यले ७५ फिट अग्लो अष्ट धातुको मूर्ति नेपाल माताको मूर्ति राखिने भएको छ ।
मन्दिर निर्माणका लागि सहयोग जुटाउने क्रममा जगद्गुरु देवाचार्यले पश्चिम नेपालका ३७ जिल्लाको भ्रमण गरी साउन २९ गते उपत्यका आइपुग्नुभएको काठमाडौँ उपत्यका पदयात्रा व्यवस्था समितिले जनाएको छ । अहिले उहाँले उपत्यकाका विभिन्न भागमा पैदल यात्रा गरी सहयोग सङ्कलन गरिरहनुभएको छ ।
काठमाडौँ र ललितपुरका भित्री र बाहिरी बनजारका भ्रमण पछि जडीबुटी पेप्सीकोलाबाट भक्तपुर प्रवेश गर्ने समितिका संयोजक भरत घिमिरेले राससलाई जानकारी दिनुभयो ।
भ्रमणका क्रममा जगद्गुरु देवाचार्यले विभिन्न तीर्थस्थल, नदीनाला, पवित्र मठ मन्दिरको माहात्म्य, गरिमा र महत्वसहित प्रवचन गरिरहनु भएको छ । उपत्यकाको पैदल यात्रा हाल पशुपति आइपुगेको समिति सदस्य कृष्ण खतिवडाले बताउनुभयो ।
सैँतीस जिल्ला हुँदै उपत्यका आइपुग्दा प्रत्येक नागरिकबाट कम्तीमा रु एकको सहयोगले पनि रु ५० लाख सङ्कलन भैसकेको छ ।
पुरातत्व विभागका इन्जिनियरले मन्दिर निर्माणका लागि करिव रु २५ करोड लाग्ने प्रतिवेदन दिएको समितिले जनाएको छ । नेपाल माताको मूर्तिमा सुन, चाँदी, तामा, फलाम, पित्तल, काँसलगायत आठ धातु प्रयोग गरिनेछ । रासस













प्रतिक्रिया