२९ आश्विन २०८३, बिहिबार

कांग्रेसमा तेस्रो धार, शक्तिशाली बन्दै खुमबहादुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khum-Bahasur-Khadka

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन कहिले हुन्छ पत्तो छैन । तर, केही नेता महाधिवेशनलाई लक्षित गर्दै आन्तरिक तयारीमा व्यस्त हुन थालेका छन् ।

१२ औं महाधिवेशनबाट पार्टी अध्यक्ष बनेका सुशील कोइरालाले केन्द्रीय कार्यसमिति बैठक नबोलाएपछि कांग्रेसको आगामी महाधिवेशन अन्यौलमा छ । १३ औं महाधिवेशन एक वर्षपछि धकेल्ने अनौपचारिक सहमति नेताहरूबीच भइसकेको बताइएको छ । आगामी असोज ४ गतेबाट कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल सकिँदैछ । कांग्रेस विधानले एक वर्षभन्दा बढी समयावधि थप्न नपाइने व्यवस्था छ । कोइरालापक्षले सोही व्यवस्थालाई टेकेर महाधिवेशन एक वर्षपछि सार्ने तयारी गरिरहेका बेला वरिष्ठ नेता शेरबहादुर देउवाको संकट भने बढ्दै गएको छ ।

देउवाको संकट उनका निकट भनेर चिनिने खुमबहादुर खड्काका कारण बढेको हो । १२ औं महाधिवेशनमा देउवालाई खुलेरै सहयोग गरेका खड्का १३ औं महाधिवेशनका लागि भने आफ्नो बेग्लै समूह तयार गरिरहेका छन् । वरिष्ठ नेता देउवासँग दुरी बढेपछि र संस्थापन पक्षमा ठाउँ नपाउने स्थिति बनेपछि खड्का नयाँ समूह निर्माणमा जुटेका हुन् । समाचार स्रोतका अनुसार नेता खड्काले आफ्नो नयाँ शक्तिमा संस्थापन पक्षका भन्दा देउवा पक्षका बढी नेता तथा कार्यकर्ता लैजाने सम्भावना देखिएको छ ।

आफ्नो समूह बलियो बनाउने क्रममा खड्काले राजधानीका विभिन्न होटेलहरूमा लगातार जमघट गर्न थालेको कांग्रेस स्रोतले जनाएको छ । देउवा पक्षका भनिएका रामहरि खतिवडा, शंकर भण्डारी, रमेशजंग रायमाझी लगायतका युवा नेतासमेत खड्काको गोप्य भेलाका देखिन थालेका छन् । खड्काको पक्षमा कांग्रेसका विभिन्न नेताका निश्कासित निजी सचिव (पीए) हरूको हुल नै सक्रिय भएको छ । प्रधानमन्त्री सुशील कोइरालाद्वारा बर्खास्त गरिएका पीए लक्ष्मण ढकाल, अकुत सम्पत्तिको मुद्दा खेपिरहेका गिरिजाप्रसाद कोइरालाका तत्कालीन पीए गोकर्ण पौडेल, रामचन्द्र पौडेलका निश्कासित पीए जगदीशचन्द्र पोखरेल, वरिष्ठ नेता शेरबहादुर देउवाका पूर्वपीए रतनबहादुर ऐर लगायत पनि खड्का गुटमा सामेल भएका छन् ।

समाचार स्रोतका अनुसार देउवा पक्षका हस्ती भनिएका सहमहामन्त्री पूर्णबहादुर खड्का र कोषाध्यक्ष एवं शिक्षामन्त्री चित्रलेखा यादवलाई पनि खड्काले आफ्नो समूहमा तान्ने हरसम्भव प्रयास गरिरहेका छन् ।

भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा सर्वोच्च अदालतद्वारा दोषी ठहर भएर जेल सजायसमेत काटिसकेका खड्काले कारागारमा रहँदा पनि कार्यकर्तासँगको पकडलाई ढिला पर्न दिएका थिएनन् । कोइराला र देउवा गुटका हस्ती भनिएकाहरू नै खड्काको सर्मथनमा लाग्ने देखेपछि देउवा गुटमा खैलाबैला मच्चिएको छ ।

१३ औं महाधिवेशनको लागि लक्षित गर्दै समूह निर्माणमा लागेका खड्काले आफू भने पार्टी सभापतिमा उम्मेदवार नबन्ने भन्दै सभापतिमा प्रकाशमान सिंहलाई र महामन्त्रीमा कोइराला परिवारका कुनै एक सदस्यलाई समर्थन गर्ने गरी रणनति तयार पारिरहेको बुझिएको छ । सभापति सुशील कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेल तीनै जनालाई बिदा गर्ने रणनीतिअन्र्तगत खड्का सक्रिय भएको उनी निकट एक नेताले बताए । खड्काले धर्म निरपेक्षताको विरोधमा रहेकाहरूलाई समेट्न थालेको बुझिएको छ । नेपाललाई हिन्दू राज्य कायम गरिनुपर्छ भन्ने धारणा बोक्नेहरू कांग्रेसभित्र धेरै रहेको बुझाइका साथ खड्काले धर्मनिरपेक्षता विरोधी अभियानलाई पनि साथ साथै लाने तयारी गरेको स्रोतको भनाइ छ ।