काठमाडौं, ११ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रम सुरु गरेका छन् ।
दाहालले शुक्रबार प्रमुख सत्ता साझेदार कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन् ।
कांग्रेसका मन्त्री थपिएपछि मन्त्रिपरिषद ३१ सदस्यीय भएको छ। कान्तिपुर दैनिकले समाचार छापेको छ ।
दाहालले चार मन्त्रालय पशुपक्षी विकास, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा समाज कल्याण र विज्ञान तथा प्रविधिमा मन्त्री नियुक्त गर्न बाँकी छ ।
दाहालले आफ्नो पार्टीको भागमा परेका ८ मध्ये चार मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरिसकेका छन् ।
बाँकी ४ मन्त्रालयमा मन्त्री नियुक्त गर्दा मन्त्रिपरिषद ३५ सदस्यीय पुग्नेछ । ३० मन्त्रालयमध्ये बाँकी २६ मा समेत राज्यमन्त्री नियुक्त गरिएमा मन्त्रिपरिषद ६१ सदस्यीय पुग्नेछ ।
संविधानमा संघीय (केन्द्रीय) सरकारमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने व्यवस्था छ ।
यो मुलुकमा संघीयता कार्यान्वयन भएपछिमात्र लागू हुने संवैधानिक व्यवस्था हो ।
यो प्रावधान अहिल्यै लागू गर्नु प्रधानमन्त्रीका लागि संवैधानिक बाध्यता नभए पनि त्यसलाई पालना गर्नु उनको नैतिक कर्तव्य हो ।
दाहाल मन्त्रिपरिषदमा कांग्रेसका १५, माओवादी केन्द्रका ४ राज्यमन्त्रीसहित १२, राप्रपाका २, नेकपा संयुक्तका १ गरी ३० मन्त्री छन् ।
कांग्रेस–माओवादी केन्द्र गठबन्धनले दाहाललाई प्रधानमन्त्री निर्वाचित हुँदा मत दिएर सहयोग गरेका थप दलहरूलाई समेत मन्त्रिपरिषदमा सामेल गर्दैछन् ।















प्रतिक्रिया