काठमाडौँ, १० भदौ । नवनियुक्त उद्योगमन्त्री नवीन्द्रराज जोशीले समुदायमा आधारित उद्योगलाई प्राथमिकता दिएर कार्यक्रम तथा नीति तयार गर्ने बताउनुभएको छ ।
शपथ लिइसकेपछि आज मन्त्रालयमा आयोजित पदस्थापन कार्यक्रममा उहाँले कर्मचारीलाई निर्देशन दिँदै सार्वजनिक सेवालाई जनमुखी बनाउन जोड दिनुभयो ।
उहाँले भन्नुभयो– “जनताले अनुभूति गर्नेगरी सेवा प्रदान गर्नुपर्छ, उनीहरुले पाउने सुविधामा कमी आउनु भएन ।”
मन्त्री जोशीले कर्मचारीले अगाडि बढाएका विषयलाई आफूले सहज तुल्याउने उल्लेख गर्दै जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो ।
कृषिमा आधारित उद्योग तथा रोजगारी प्रवद्र्धन गर्ने क्षेत्रले विशेष प्राथमिकता पाउनुपर्नेमा जोड दिँदै उहाँले मन्त्रालयको स्रोत र साधनको अधिकतम प्रयोग गरेर नतिजा निस्कने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
![]](https://www.dainiknepal.com/wp-content/uploads/2016/08/Nabindra-raj-joshi-1-650x542.jpg)
आफूले काठमाडौँ महानगरपालिकाको उपमेयर भएर गरेका सुधारका अनुभव सुनाउँदै मन्त्री जोशीले नयाँ ढाँचाका साथ काम गरेर एक महिनाभित्र मन्त्रालयमा काम भएको छ भन्ने स्पष्ट सन्देश दिन चाहेको बताउनुभयो ।
सो अवसरमा उद्योग सचिव शङ्करप्रसाद कोइरालाले मुलुकलाई औद्योगिकीकरण नगरेसम्म आर्थिक समृद्धि नहुने धारणा राख्दै त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
औद्योगिक क्षेत्रमा नियमित विद्युत् अबरुद्ध, पूर्वाधारको अभाव, बजार व्यवस्थापनमा समस्या, कच्चा पदार्थको अभाव एवम् मैत्रीपूर्ण व्यवहार नभएकाले यस क्षेत्रले आकर्षक बन्न नसकेको नवनियुक्त मन्त्री जोशीलाई उहाँले जानकारी गराउनुभयो । रासस
















प्रतिक्रिया