काठमाडौं, ९ भदौ । विश्व साइकलयात्री एवं सगरमाथा आरोही ‘पुष्कर शाह’ को यात्रा संस्मरणले पुस्तकाकार पाएको छ ।
शाहको पहिलो पुस्तक ‘संसारलाई साढे पाँच फन्को’ लाई बुकहिल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । रेडियोकर्मी एवं साहित्यकार भूपेन्द्र खड्काको सहयोगमा तयार भएको पुस्तकको विमोचन आगामी भदौ २१ गते शनिबार हुनेछ । पुस्तकमा पुष्करले टेकेका १ सय ५० वटा मुलुकको रोमाञ्चक यात्रा वर्णन संगृहीत छन् । ‘संसारका धेरै भुभागको पानीको स्वाद र माटोको सुगन्ध पुस्तकले पस्किने छ’, पुष्कर भन्छन् ‘हरेक दिन बदलिरहने हावापानी, प्रकृति, वातावरण, सँस्कृति, भाषा र खानपानको वर्णन पनि पुस्तकमा छ ।’
आफूले ११ वर्ष अर्थात् ४ हजार १५ दिन लगाएर गरेको विश्वयात्रासँगै सर्वोच्च शिखर सगरमाथा आरोहणका सबै उतार–चढाव, सुख–दुख तथा आरोह–अवरोहहरू किताबमा समेटिएको पुष्कर बताउँछन् । उनी भन्छन्, ‘रक्की माउण्टेनमा माइनस ५ डिग्री सेल्सियसमा दौडिएका पलदेखि सहारा मरुभूमिमा ५० डिग्री सेल्सियसको पसिना नै वाफ बन्ने तापक्रममा साइकलका प्याडल घुमाएका अनुभवलाई पुस्तकमा उतार्ने जमर्को गरेको छु ।’
यात्रा वर्णनमात्रै नभएर पुस्तकमा विभिन्न मुलुकको राजनीतिक विकास क्रम पनि संगृहीत छ । साइकलमा विश्वघुम्ने “जुनुन्” पाले वापत् विभिन्न देशका युवतीले ११ पटकसम्म राखेको विवाहको प्रस्ताव, विभिन्न रंग र जातका स्त्रीहरूसँगको यौनिक अनुभवदेखि टन्न पैसा बोकेर घुम्न निस्केको भन्ठानेर विभिन्न देशमा ११ पटकसम्म लुटिंदाका क्षणसमेत किताबमा अटाएका छन् ।
‘यात्राका क्रममा मृत्युसँग भएका अनेकन् पौंठेजोरीहरू, मृत्युलाई जितेका क्षणहरू, खुला आकाशमुनि अनिँदो बिताएका रातहरूका कथा पनि किताबमा छन्’, उनी थप्छन् ‘पानीमात्रै घुट्क्याएर आनन्दसँग निदाएका क्षणदेखि स्वादिष्ट व्यञ्जन र पाँच तारे होटलमा निदाउन नसकेका पलहरूको सजीव चित्र पनि यसमा छन् ।’
पुस्तकको लेखनमा सहकार्य गरेका भूपेन्द्र खड्काका अनुसार पाठकले पुष्करसँगै संसारका विभिन्न मुलुकको शाब्दिक शयर गर्नेछन् । ‘पुष्करका दु:खमा पाठकले च्व: च्व: गर्नेछन् भने सुखमा मुस्कुराउनेछन्’, खड्का भन्छन्, ‘पुष्करको साइकलको टायरले गरेको संसार–यात्राभन्दा अझ बढी रोमाञ्चक यात्रा गर्नेछन्, पाठकले किताब पढेपछि । ’
‘संसारलाई साढे पाँच फन्को’ को प्रकाशनपछि यात्रा–कथाको बिधामा नयाँ आयाम र ऊर्जा थपिने विश्वास पब्लिकेशनले लिएको छ । संस्मरणको वास्तविक स्वादसँगै पुस्तकले विभिन्न देशको मौलिक सँस्कृति र रहनसहनसमेत बोकेकाले हरेक अन्तिम पाठकले पुस्तक पढ्नुपर्ने प्रकाशकको ठम्याई छ । पुस्तकको बजार व्यवस्थापन फिनिक्स् बुक्स्, प्रदर्शनीमार्ग काठमाडौँले गर्दैछ ।
















प्रतिक्रिया