११ कार्तिक २०८३, बुधबार

बाणिज्य बैंकलाई धम्क्याउँदै बैंक डिफल्टर चण्डीराज ढकाल

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandiraj Dhakalकाठमाडौं, ९ भदौ । ठूलालाई चयन सानालाई ऐन भन्ने नेपाली उखान नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालमा लागू भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको विधान संसोधन समितिका संयोजक समेत रेका ढकालले २० वर्ष पहिला विभिन्न बैंकहरुबाट लिएको ऋण अझै तिरेका छैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

ढकालले आफ्नो गार्मेन्ट उद्योग मोमेन्टोको नाममा ०५३ सालमा राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ऋणको साँवा र ब्याज गरी २ अर्ब ५० लाख तिर्न बाँकी रहेको भन्दै बैंकले कालो सूचिमा समेत राखेको छ । तर, ढकालले उक्त रकम तिर्न कुनै पनि चासो देखाएका छैनन् ।

उल्टै विभिन्न शक्तिकेन्द्रको दवाबमा बैंकलाई धम्क्याउने गरेको बाणिज्य बैंक स्रोतले बताएको छ । बैंकले ठूलो डिफल्टरको रुपमा कालोसूचिमा राखेको २० वर्ष भइसक्दा समेत अझै कारबाही भएको छैन ।

त्यस्तै, ढकालले नेपाल बंगलादेश बैंकको २३ करोड रुपैयाँ अझै तिरेका छैनन् । सो बैंकले समेत उनलाई कालोसूचिमा राखेपनि शक्तिको आडमा कुनै कारबाही हुन सकेको छैन ।

बरम्बार कालोसूचीमा राखि ताकेता गर्दा पनि ढकालले बैंकको ऋण नतिरेपछि बैंकका कर्मचारीले विभिन्न सरकारी निकायमा ऋण असुली गराइदिन भन्दै उजुरी नै दर्ता गराएका छन् ।

उजुरीमा राष्ट्रिय वाणिज्य बैंक ऋण असूली विभागका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत, नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश बैंकको प्रमुख तथा कर्मचारी, नेपाल राष्ट्रबैंकको नियमन विभागका कार्यकारी निर्देशक लगायतलाई समेत विपक्षी बनाइएको छ ।

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकमा २०५३ सालमै उनले झापामा सञ्चालन गरेको मोमेण्टो एपरेल्स प्रालि (गार्मेन्ट उद्योग)को नाममा लिएका ऋण नतिरेर सो बैंकले कालोसूचिमा राखे पनि नतिरिएको ऋण असूली नगरिएको र शक्तिकेन्द्रको आडमा उनलाई उन्मुक्ति दिने काम गरिएको भन्दै राष्ट्रिय वाणिज्य बैंककै कर्मचारीहरुले उजुरी हालेका हुन् ।

साउन ५ गते हालिएको उजुरीमा मुख्य दोषी मोमेण्टो एपरेल्सका प्रमुख संचालक ढकाललाई बनाइएको छ ।

उनले एपरेल्सको नाममा नक्कली कागजात खडा गरी कम धितोको जग्गा राखी तत्कालीन बैंक व्यवस्थापनका उच्च तहका मानिसलाई समेत प्रभावमा पारी करिब दुई दशकअघि ऋण लिएका र सो ऋण हालसम्म नतिरिएको उजुरीमा उल्लेख छ ।

स्रोतका अनुसार ढकालले ०५३ सालमै राष्ट्रिय वाणिज्य बैंकबाट मोमेन्टोको नाममा ३० करोड बढी ऋण लिएका र सो ऋणको ब्याज समेत जोडिएर हाल साढे २ अर्ब बढी भइसके पनि अझै तिरेका छैनन् ।

सो ऋणको सावा र ब्याज हालसम्म पनि उनले चुक्ता गरेका छैनन् । बैंकले उनलाई पटक–पटक कालोसूचिमा राखे पनि राज्यको उपल्लो स्तरसम्म पहँ‘च भएका कारण र त्यसैको आडमा उनले सरकारी लगानीको बैंकको पैसा पचाउँदै आएका छन् ।

‘ढकालले त्यसबेलादेखिको साँवा र ब्याज गरी राष्ट्रिय वाणिज्य बैंकको मात्रै साढे २ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ ।’ बैंकका एक कर्मचारीले भने–‘उनलाई बैंकले पटक–पटक कालोसूचिमा राखे पनि हरेक पटकका सीइओ, प्रधानमन्त्री, अर्थमन्त्री, अख्तियार प्रमुख, प्रहरी समेतको धाक दिएर मिलाउने गरेका छन् ।’

ती कर्मचारीका अनुसार सर्वसाधारणले एक–दुई लाख लिंदा र नतिर्दा बैंकले राज्यका आधिकारिक निकाय प्रयोग गरेर कर्जा असूली गर्ने गरे पनि ढकाललाई उन्मुक्ति दिने काम भएको छ ।

‘त्यति धेरै रकम पचाएर नतिर्दा समेत उनीबाट कर्जा असूलीका लागि कालोसूचिमा राख्ने बाहेक केही काम भएको छैन ।’ ती कर्मचारीले भने–‘कागजी कालोसूचिमा राखेर बैंकका हाकिमहरु तिनै कालोसूचिका व्यक्तिसँग तारे होटलमा डिनर गर्छन, उपहार आदानप्रदान गर्छन ।’ ‘हामीले उनलाई कालोसूचिमा राखेको वर्षौ भयो ।’

राष्ट्रिय वाणिज्य बैंकका एक उच्च तहका कर्मचारीले भने–‘तर हामीले कालोसूचिमा राखेका व्यक्ति नै मन्त्री, गभर्नर, प्रधानमन्त्री र उच्च नेतासँगको संगतमा हुन्छन् ।’ ती कर्मचारीको भनाईमा बैंकका ठूला डिफल्टरका सामुन्ने सार्वजनिक समारोहहरुमा आफूहरुले नै शिर झिकाउनुपर्ने अवस्था रहेको छ ।

‘ठूला सार्वजनिक समारोहहरुमा प्रधानमन्त्री र ठूला नेतासँगको संगतका कारण कालोसूचिका व्यक्ति चण्डी ढकालसँग हामीले उल्टो शिर झुकाउनुपर्ने लाजमर्दो अवस्था छ ।’ ती कर्मचारीले थपे–‘अन्य देशमा कालोसूचिको व्यक्तिलाई सामाजिक बहिस्कार गर्ने चलन छ, तर हाम्रो देशमा साढे २ अर्ब बढी नतिर्ने कालोसूचिका ढकालको राज्य तहको उपल्लो स्तरमा उल्टो चलखेल चल्छ, हामीले उल्टो नमस्कार गरेर हिँड्नुपर्ने अवस्था छ ।’