रत्ननगर (चितवन), ९ भदौ । एकीकृत नेकपा (माओवादी) चितवनमा नयाँ नेतृत्व चयन भएको दुई साता नबित्दै समानान्तर कमिटी गठन भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकलौटी ढङ्गले काम गरेको भन्दै वरिष्ठ नेता डा. बाबुराम भट्टराई पक्षधरहरूले नयाँ समानान्तर कमिटी गठन गरेका हुन् ।
भट्टराई पक्षीय नेता अमर रेग्मीको अध्यक्षतामा ४१ सदस्यीय समानान्तर समिति गठन गरिएको नेता विष्णुहरि तिमिल्सिनाले जानकारी दिनुभयो । पार्टीभित्र अध्यक्ष प्रचण्ड दाहालले अल्पमतको कदर गर्न नसकेकाले त्यसैको व्यवस्थापनका लागि दबाब दिन यस्तो कदम चालिएको तिमिल्सिनाले बताउनुभयो ।
यो आन्तरिक सङ्घर्षको चरण रहेको समेत उहाँले बताउनुभयो । संयोजक रेग्मी तोकिए पनि अन्य पदाधिकारी भने छानिएको छैन ।
यसअघि साउन अन्तिमसाता चितवनमा एमाओवादी पार्टीको सातौँ सम्मेलनपछिको पहिलो बैठकले अध्यक्षमा दाहाल पक्षीय नेता यमबहादुर परियार इन्द्रजीतलाई चयन गरेको थियो ।
उहाँको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । विवादका कारण लामो समयपछि कार्यसमिति चयन भएपनि त्यसको दुईसाता नबित्दै अहिले समानान्तर कमिटी गठन भएको हो ।
देशका अन्य जिल्लामा पनि समानान्तर कमिटी गठन भइरहेको समाचार बाहिर आएको छ । एमाओवादी चितवनले पदाधिकारीहरू चयन गर्ने क्रममा कुरो नमिलेपछि समानान्तर कमिटी गठन भएको स्रोतले बताएको छ ।
पदाधिकारी चयनका विषयमा छलफल भएको बताए पनि एमाओवादी चितवनको नेतृत्व पक्षले भने समानान्तर कमिटीबारे जानकारी नभएको बताएको छ ।
नवनिर्वाचित अध्यक्ष इन्द्रजीतले भने आगामी दिनमा जिल्ला पार्टीलाई एकताबद्ध भएर लैजाने दाबी गर्नुभएको छ । रासस
















प्रतिक्रिया