मोरङ, ८ भदौ । अवैज्ञानिक ढङ्गबाट गरिएको घरजग्गा कर वृद्धि संशोधन गर्न सहयोग गर्ने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले आश्वासन दिनुभएको छ ।
घरजग्गा कर वृद्धिको समाचार राससमार्फत यहाँका सञ्चारमाध्यमले प्राथमिकता दिएर छापेपछि र यहाँका प्रमुख आठ दलले चौतर्फी विरोध गरेपछि कार्यकारी अधिकृत रेग्मीले संशोधन गर्ने आश्वासन दिनुभएको छ ।
नेकपा (एमाले) मोरङ अध्यक्ष महेश रेग्मी, नेपाली काँग्रेस विराटनगर सभापति भीम पराजुली, (माओवादी केन्द्र) विराटनगर इन्चार्ज नमिता न्यौपाने, राप्रपा नेपाल, सङ्घीय समाजवादी फोरम, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), तमलोपा, सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका विराटनगरका प्रतिनिधिले कर घटाउन आग्रह गरेपछि घरजग्गा कर वृद्धि संशोधन गर्न रेग्मीले आश्वासन दिनुभएको हो ।
कार्यकारी अधिकृत रेग्मीले रासससँग कुरा गर्दै विज्ञसँग राय सल्लाह लिएर आफूले यसमा केही गर्ने वचन दिनुभयो । कार्यकारी अधिकृत रेग्मीले जवाफमा संशोधन गर्ने तयारीका लागि काठमाडौँ महानगरपालिकाको प्रचलन बुझेर निर्णय लिने जानकारी गराउनुभयो ।
नेपाली काँग्रेस विराटनगरका नगर सभापति भीम पराजुलीले रासससँग कुरा गर्दै भदौ १७ गतेसम्ममा पनि राजनीतिक दलको माग सुनुवाइ नभए थप सशक्त कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिनुभएको छ । उहाँका अनुसार सशक्त कार्यक्रममा आमरण अनशन समेत हुनसक्नेछ । रासस















प्रतिक्रिया