काठमाडौँ, ७ भदौ । नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि श्रीलङ्काका नवनियुक्त राजदूत डब्लुएस परेराको सम्मानमा सोमबार यहाँ नेपाल–श्रीलङ्काबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा छलफल गरेको छ ।
सो अवसरमा राजदूत परेराले नेपाल र श्रीलङ्काबीच आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्न आफू सदा तत्पर रहने बताउँदै दुई देशबीच आर्थिक सामाजिक सम्बन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा उच्चस्तरीय भ्रमण प्रतिनिधिमण्डलमा निजी क्षेत्रको सहभागिता बढाउन, मेला तथा प्रदर्शनीमा सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । राजदूत परेराले श्रीलङ्काका व्यवसायी नेपालको पूर्वाधार, शिक्षा, निर्माणलगायत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउनुभएको थियो ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र श्रीलङ्काबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धमाथि प्रकाश पार्दै राजदूत परेराको कार्यकालमा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धिमा उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चेम्बरले आागामी असोज ७ देखि ११ गतेसम्म आयोजना गर्ने ‘नेपाल चेम्बर एक्सपो–२०१६’ मा सहभागिता जनाई व्यापार तथा लगानी गर्न आग्रह गर्दै नेपालमा श्रीलङ्काको पुँजी र प्रविधि भित्र्याउन अनुरोध गर्नुभयो । रासस
















प्रतिक्रिया