काठमाडौं, ७ साउन । एनसेल चौथो पटक सर्वोत्कृष्ट करदाता बन्ने भएको छ । सरकारी स्रोतका अनुसार एनसेलले गत आर्थिक वर्ष २०७२–७३ मा रु २८ अर्व भन्दा बढि राजश्व सरकारलाई बुझाएर फेरी सबभन्दा ठूलो करदाता बन्न लागेको हो ।
यद्यपी सम्बन्धित कर कार्यलयबाट भने कुन कुन कम्पनी अथवा करदाता आर्थिक बर्ष २०७२-७३ को उत्कृष्ट करदाताहरु हुन् त्यसको आधिकारीक सूची भने सार्वजनिक हुन बाँकी छ । यस अधि लगातार तिर्न वर्ष (२०६९-२०७०, २०७०-२०७१ र २०७१-२०७२) सबै भन्दा बढि कर तिर्दै एनसेल सर्वोत्कृष्ट करदाता बनिसकेको छ ।
‘हिसाब किताब हेर्दा एनसेल एक नम्बर करदाता हुने पक्का देखिएको छ । दोस्रो स्थानमा नेपाल टेलिकम र तेस्रोमा सुर्या नेपाल रहेका छन्,’ आन्तरिक राजश्व विभागका एक अधिकारीले बताए । विभागका अधिकारीहरुका अनुसार करदाताहरुले लेखा परिक्षण प्रतिवेदन बुझाउने समयावधि अझै बाँकी रहेकाले कुन करदाताले कति कर तिर्यो भन्ने औपचारिक जानकारी त्यसपछि मात्र प्राप्त हुनेछ ।
आर्थिक वर्ष २०७१÷७२ मा पनि एनसेलले सरकारलाई रु २८ अर्ब ६० करोड भन्दा बढी राजश्व तथा शुल्क बुझाएको थियो । गत आर्थिक वर्षमा एनसेलले रेनोल्ड्स होल्डिङ्को शेयर कारोबार बापत टेलिया (एनसेलको पुर्व माउ कम्पनी) को तर्फबाट झण्डै रू. १० अर्बपनि दाखिला गरेको थियो । यसले गर्दापनि कम्पनीले तिरेको करको रकम एकदमै बढेको कर अधिकारीहरुले बताएका छन् ।
कर दाखिलाको हिसाब हेर्दा नेपाल टेलिकम भन्दा एनसेल झण्डै रु १५ अर्व बढि राजश्व तिरेर अग्रणी स्थानमा रहने देखिएको जानकारी दिइएको छ । त्यसै गरी आयकर मात्रको हिसाब गर्दा पनि अन्य कम्पनीहरु भन्दा एनसेल एकदमै अगाडी रहेको छ ।
आन्तरिक राजश्व विभागले राख्ने करको हिसाबमा टेलिकम कम्पनीहरुले तिर्ने लाईसन्स नविकरण शुल्क र ग्रामिण दूरसञ्चार कोषमा गरिएको योगदान लगायत भने समाबेश गरिएको हुदैन । एनसेलले सरकारलाई आफ्नो अनुमति पत्र नविकरण दस्तुरको किस्ता रू. २.५ अर्ब प्रत्येक आर्थिक वर्ष सकिनु अगावै तिर्दै आएको छ । त्यसै गरी दुरसञ्चार कम्पनीहरुले आफ्नो वार्षिक कुल आम्दानीको २ प्रतिशत रकम ग्रामिण दूरसंचार कोषमा बुझाउदै आएका छन् ।
गत वैशाखमा एनसेलले आफुले सरकारी ढुकुटीमा विविध शुल्क, रोयल्टि र कर अन्तर्गत हालसम्म झण्डै रु १२९ अर्ब योगदान गरेको जनाए थियो । साथै, दीर्घकालिन तथा प्रतिबद्ध लगानीकर्ताका रुपमा आउँदा वर्षहरुमा पनि देशको सबैभन्दा ठूलो करदाताको रुपमा आफ्नो अग्रणी स्थान कायम राख्ने लक्ष्य कम्पनीको रहेको बताएको थियो ।
लगानी तथा विस्तारसँगै एनसेलले राज्य कोषमा गर्ने योगदान प्रत्येक वर्ष बढिरहेको छ ।
















प्रतिक्रिया