काठमाडौं, ६ भदौ । नेकपा एमालेका नेता रघुविर महासेठले राष्ट्र र जनताको हितमा हुने संविधान संशोधनमा एमाले बाधक नबन्ने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अघि थपे, ‘संविधान संशोधन के को लागि हो, यो कुरा पहिला बुझ्न जरुरी छ, देश अहिले संक्रमणकालिन अवस्थामा छ ।’
महासेठले मधेशी मोर्चाका केही नेताहरुले संविधान पूर्नलेखनको कुरा उठाएकोप्रति ईंगित गर्दै भने,‘मोर्चाका केही साथीहरु संशोधनको कुरा उठाउनुहुन्छ, केही साथीहरु पूर्नलेखनको कुरा गर्नुहुन्छ, उहाँहरुभित्रै विवाद छ, कसको ईशारामा उहाँहरु यस्तो कुरा गर्दैहुनुहुन्छ ?’ यद्धपी उनले आफूहरु संविधान संशोधनको विरोधी नभएको स्पष्ट पारे ।
नेता महासेठले मोर्चाको गतिविधि नै अहिले शंकास्पद भएको टिप्पणी गरे । उनले भने,‘उहाँहरु एकातिर संविधान संशोधनको कुरा गर्नुहुन्छ, अर्कोतिर सरकार बनाउने र गिराउने खेलमा भाग लिनुहुन्छ, अनि आन्दोलनमा पनि छौं भन्नुहुन्छ, यो के तरिका हो ? हामीले बुझेका छैनौं ।’ उनले मोर्चाका नेताहरुलाई संविधानलाई क्रियाशिल बनाउने कुरामा ध्यान दिन आग्रह गरेका छन् ।
मोर्चाले अहिले सिमांकन लगायत संघीयताको कुरा छोडिसकेको उनको आरोप थियो । उनले भने,‘अहिले मोर्चाको लाग सिमांकनको कुरा गौण भएको छ, सरकारमा सहभागी हुन मोर्चाका साथीहरु अहिले बहाना बनाईरहेका छन् ।’
उनले अघि थपे,‘कुनै न कुनै बहानामा उहाँहरु सरकारमा जानुहुन्छ, त्यसको लागि आँतुर हुनुहुन्छ ।’ यद्धपी उनले अहिले गरिएको सिमांकन वैज्ञानिक नभएको टिप्पणी गरे ।
महासेठले काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको तीन बुँदे सहमतिमा नौला कुरा केही पनि समावेश नभएको दाबी गरे । उनले भने,‘तीन बुँदेमा उल्लेख गरिएका सबै कुराहरु केपी ओलीजीले पनि कमिटमेन्ट गर्नुभएको थियो ।’
स्थानीय तहको निर्वाचन गर्नेबारेमा विभिन्न बखेडा झिक्नु भनेको चुनाव नै नगराउने बहानाबाजी भएको उनको तर्क थियो । उनले भने,‘अनावश्यक बखेडा झिक्नु भनेको चुनाव नगराउने कुरा हो, अहिले चुनाव नगर्ने खेल भैरहेको छ ।’
महासेठले अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने हल्लाप्रति टिप्पणी गर्दै भने,‘यसबारेमा पार्टीले स्पष्ट रुपमा भनिसकेको छ, यो जरुरी छैन, डा. केसीका राजनीतिक माग पूरै गलत छन् ।’ उनले डा. केसीलाई महाअभियोग लगाउने कुरा गरेकोमा आक्रोश पोख्दै भने,‘उहाँले कि त राजनीतिक गर्नुपर्यो अनि उहाँले यो कुरा उठाउन मिल्छ, होईन भने किन यस्तो बहस गरिरहनुभएको छ ?’












प्रतिक्रिया