११ कार्तिक २०८३, बुधबार

प्रचण्ड भदौमा भारत जाने, निधिले सुष्मा समक्ष के–के एजेण्डा पेश गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pranchकाठमाडौं, ५ भदौ । उपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीचको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले ३० भदौमा भारत भ्रमण गर्ने तय भएको भेटमा सहभागी नेपाली दूतावासका एक अधिकारीले जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भ्रमणबारे कूटनीतिक च्यानलमा छलफल तीव्र बनाउने पनि सहमति भएको छ ।

उच्च कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा सहमति गर्नुपर्ने विकास एजेन्डाबारे पनि निधि र स्वराजबीच छलफल भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण तथा भारतीय समकक्षी प्रणव मुखर्जीको नेपाल भ्रमणबारे पनि कुराकानी भएको थियो ।

भेटमा निधिको भनाइ थियो, ‘म उच्चस्तरीय भ्रमणको एजेन्डा लिएर आएको छु, यसले हाम्रो प्राचीन सांस्कृतिक र ऐतिहासिक सम्बन्ध थप मजबुत हुन्छ ।’ यसमा स्वराजको जवाफ थियो, ‘भारत यसमा सकारात्मक छ, आपसी छलफलबाट तय गरौा ।’

स्रोतका अनुसार निधिले प्रधानमन्त्रीको आसन्न भ्रमणमा विकास एजेन्डाबारे नेपालको प्राथमिकता प्रस्तुत गरेका थिए ।

एजेन्डामा पूर्व–पश्चिम हुलाकी मार्ग द्रुतगतिमा निर्माण, पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार, मुजफ्फरपुर–ढल्केबर विद्युतीय प्रसारण लाइन आयोजनाको क्षमता विस्तार, भूकम्पपीडित प्रतिपरिवारलाई थप एक लाखका दरले वितरण गर्न भारतीय सहयोग, विगतमा सम्झौता भएका जलविद्युत् परियोजना सुचारुलगायतका विषय समेटिएका छन् ।

यसबारे भारतीय विदेशमन्त्री स्वराजको भनाइ थियो, ‘प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा यी सबै विषयमा छलफल गर्न र नेपाललाई सहयोग गर्न भारत सकारात्मक छ ।’

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले शुक्रबार शास्त्रीभवनस्थित कार्यालयमा नेपालको विकास प्राथमिकताको सूची प्राप्त भइसकेको र यसमा छलफल भइरहेको जानकारी दिए ।

‘प्रधानमन्त्री प्रचण्ड आफ्नो छोटो कार्यकालमा भारत सरकारको सहयोगमा विकासका महत्त्वपूर्ण जग बसाल्न चाहनुहुन्छ भन्ने सन्देश पाएका छौ, हामी यसका लागि सहयोग गर्न तयार छौ,’ भारतीय अधिकारीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।