२६ कार्तिक २०८३, बिहिबार

कमल थापाले दिए संवैधानिक दुर्घटनाको चेतावनी, प्रमुख दलका कारण देशमा अस्थिरता

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapa-RPP-Nepal

काठमाडौँ, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अबको डेढ वर्षभित्रमा तीनवटा निर्वाचन हुन नसकेमा मुलुकमा संवैधानिक दुर्घटनाको खतरा रहेको बताउनुभएको छ ।

पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले देशलाई संवैधानिक सङ्कटबाट बचाउन पूर्ववर्ती सरकारले स्थानीय तहका लागि तय गरेको तालिकाअनुसार मङ्सिरमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले संविधानको औचित्य समाप्त हुनेतर्फ प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र गम्भीर नभएको आरोप समेत लगाउनुभयो ।

राप्रपा नेपालका अध्यक्ष थापाले प्रमुख तीन दल सत्ताको खेलमा लागेका कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको र संविधानको औचित्यमाथि अहिलेबाट नै प्रश्न उठ्न थालेको बताउनुभयो ।

उहाँले राप्रपासँग एकीकरण हुन नसके पनि उक्त पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न थालेको जानकारी गराउँदै राष्ट्रिय अखण्डता र नेपालीको स्वाभिमानलाई संरक्षण गर्न राप्रपा नेपाल दृढताका साथ अगााडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा राप्रपाका सहायक महामन्त्री हेमराज गुरुङ, सोही पार्टीको लमजुङ जिल्ला कमिटीका सबै पदाधिकारी तथा विभिन्न राजनीतिक दल परित्याग गरी आएका करिब ५०० जनालाई अध्यक्ष थापाले पार्टी प्रवेश गराउनुभयो ।

राप्रपाका सहायक महामन्त्री गुरुङ उक्त पार्टीमा प्रवेश गरेपछि सङ्गठनको आदर्श तथा निष्ठालाई उचाइमा पुर्याउने बताउँदै देशभर सङ्गठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस