काठमाडौं, ४ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी अहिले आफ्ना एक दलित नेतालाई बचाउन ज्यान फालेर लागेको छ । ती हुन् प्रेम दर्नाल । केन्द्रीय आर्थिक विभागका सेक्रेटरी प्रेम दर्नालले करोडौं रुपैयाँ चन्दा उठाएर अहिले बिलासिताको जीवन बिताइ रहेको आरोप छ ।
तीन वर्ष अगाडिसम्म बागबजारको मेरिना ईम्पेक्स टेलरिङमा कालिगडीमा सर्ट, पाइन्ट र कोट सिलाउने गरेका प्रेम दर्नालको जीवन शैली ह्वात्तै बढेपछि उनीसँग काम गर्ने मजदुरहरूले सोधिखोजी गरेका थिए । अहिले दर्नाल ४० लाख पर्ने गाडी आफै हाँकेर हिँड्छन् ।
पहिला एमालेको राजनीति गर्दै आएका दर्नाल माओवादी शान्ति प्रक्रियामा आएको धेरै पछाडि माओवादी बनेको उनका सहकर्मीहरू बताउँछन् । त्यसपछि मोहन बैद्यको नेकपा–माओवादी माओवादी र पछि ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा आबद्ध भएका दर्नालले चन्दा आतंक थालेको स्रोतको भनाइ छ । उनलाई सुरुमा तिलक परियारले धेरै संरक्षण गरेका थिए ।
हैसियतभन्दा धेरै सम्पत्ति आर्जन गरेको र चन्दा आतंक मच्चाउने उनै दर्नाललाई विप्लव माओवादीले संरक्षण गरेकोमा नेताहरू चकित परेका छन् । एक नेताले भने, ‘प्रेम दर्नालले आफ्नो हैसियतभन्दा धेरै सम्पत्ति कहाँबाट जोड्यो ? पार्टीले सोधी खोजी गर्नुपर्छ । एउटा व्यक्तिको पछाडि लाग्नु हुँदैन । छानविन गरेर कारबाही गर्नुपर्छ ।’
पार्टीका शीर्ष नेताहरूलाई तत्काल प्रभावमा पारेर आफ्नो पक्षमा ल्याउन सक्ने क्षमता राख्ने दलित युवा नेता दर्नालले विशेष गरेर राजधानीका कपडा व्यवसायीहरूसँग लाखौँ रुपैया चन्दा उठाएका छन् । स्रोतका अनुसार विप्लव माओवादीको आडमा अहिले पनि उनले श्रेष्ठ टेलरिङ, पहिला आफैले काम गरेको मेरिना ईम्पेक्स, रेमण्डलगायतका ठूला व्यावसायिक घरानासँग चन्दा उठाउँदै आएका छन् ।
उनै दर्नालविरुद्ध गत बुधबार जनआस्था साप्ताहिकले समाचार प्रकाशित गरेपछि चन्दा उठाउने खेतीपाती बन्द हुने भो भन्दै अत्तालिएका छन् दर्नाल । दर्नालले नेकपा माओवादीको केन्द्रीय आर्थिक विभागका सेक्रेटरी पनि हुन् । ‘विकल्प’को नाममा प्रेस विज्ञप्ति निकाल्न लगाएर दर्नालले आफूविरुद्ध आएको समाचारको खण्डन पनि गर्न लगाएका छन् । तर उनको चन्दा आतंक र गैर राजनीतिक क्रियाकलापबाट ‘विप्लव’ समक्ष पहिला नै उजुरी परेको थियो ।
यौनकाण्डमा पनि बेलाबेला दर्नाल विवादमा आइरहन्छन् । उनका यौनकाण्डसम्बन्धी थुप्रै उजुरी माओवादीमा परेका छन् । दर्नालका गतिविधिबाट सिलाइ मजदुरहरू पनि आजित छन् । बागबजारका सिलाइ गार्मेन्टमा अहिले पनि दर्नालले विभिन्न बहानामा मजदुरहरूसँग पैसा उठाउने गरेका छन् ।
आफ्नो गृह जिल्ला दोलखाका हाइड्रोपावरहरू र विभिन्न संघसंस्थाबाट दर्नालले लाखौँ रुपैया चन्दा उठाएका छन् । चन्दाबाट उठेको रकम उनले पार्टीलाई नबुझाई आफै राख्ने गरेको स्रोतको भनाइ छ ।
राजधानीमा ३/४ ठाउँमा जग्गा खरिद गर्नुका साथै आफ्नै घरबार जोडेका दर्नाललाई जोगाउन नेत्रविक्रम चन्द ‘विप्लव’ किन यसरी लागेका छन् रहस्यको विषय छ ।
‘विप्लव’ माओवादीमा हुँदा तिलक परियारले दर्नाललाई संरक्षण गर्ने गर्थे । तर अहिले तिलक परियार प्रचण्डको माओवादीमा पार्टी फुटाएर प्रवेश गरेपछि दर्नाल घरनघाटको बनेका छन् । उनलाई तिलक परियारले त्यतिबेला प्रचण्ड माओवादीमा जानका लागि आग्रह गरेका थिए । तर प्रेम दर्नालले विप्लव माओवादीबाट व्यक्तिगत फाइदा भइरहेको भन्दै जान मानेका थिएनन् ।
आर्थिक विषयमा बिबादमा आउनु अगाडिसम्म दर्नाल तिलक परियारको सम्पर्कमा पुगेको स्रोतको भनाइ छ । उनले प्रचण्ड माओवादीमा प्रवेश गरेर अहिलेसम्म कमाइ गरेको सम्पत्ति जोगाउने प्रयास गरेको बुझिएको छ ।











प्रतिक्रिया