धनगढी, ८ भदौ । कैलाली जिल्लामा झन्डै एक हप्ताअघि भएको बाढी र डुबानको समस्याका कारण पुगेको क्षतिको यकिन विवरण सार्वजनिक गरिएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा बाढी र डुबानबाट जिल्लाको पूर्वी क्षेत्रका टीकापुर नगर क्षेत्र र १६ गाविसमा गरी जम्मा तीन हजार ३ सय ८९ परिवारका सात हजार ९ सय ९३ व्यक्ति प्रभावित भएको समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले जानकारी दिनुभयो ।
यीमध्ये सबैभन्दा बढी नारायणपुर गाविसमा ६ सय १४ परिवार प्रभावित भएका छन् । यसैगरी थापापुर गाविसमा एकको मृत्यु भएको र नारायणपुर गाविसमा दुईजना घाइते भएको विवरण प्राप्त भएको छ ।
बाढी र डुबानका कारण १ सय ९ घरमा पूर्ण र ६ सय ९२ घरमा आंशिक क्षति पुगेको छ । विभिन्न परिवारका ८ सय १ पशुपंक्षी मरेका छन् ।
जग्गातर्फ विभिन्न गाविसमा गरी ९४ कट्ठा जग्गा पूर्ण रुपमा र एक हजार ४ सय ४२ कट्ठा जग्गामा आंशिक रुपमा क्षति पुगेको छ ।
प्रहरी, रेडक्रसका प्रतिनिधि र गाविस सचिवको संयुक्त टोलीले बाढी र डुबानबाट भएको क्षतिको विस्तृत अध्ययन सर्वेक्षण गरी प्रभावित परिवारको लगत सङ्कलन गरेको हो ।
बैठकले बाढीका कारण नदीमा डुबेर मृत्यु भएका थापापुरका लालबहादुर धामीका परिवारलाई नियमानुसार नगद राहत उपलब्ध गराउने, सनाखत हुन नसकेका दुई शवको मुचुल्का बनाई गाड्ने निर्णय गरेको छ ।
कार्णाली नदीको बाढीमा बगेर आएको भनिएका यी दुई शवको सनाखत हुन नसकेको भन्दै प्रहरीले गाडिसकेको जानकारी यसअघि नै दिएको थियो ।
आइतबारदेखि बाढीबाट पूर्ण क्षति व्यहोरेका परिवारलाई नगद राहतस्वरुप प्रतिपरिवार पाँच हजारका साथै एक सेट गैरखाद्य सामग्री, १५ किलो चामल, दुई किलो दाल र एक किलो नुन उपलब्ध गराउने र आंशिक क्षति व्यहोरेका परिवारलाई नगदबाहेकका राहत सामग्री उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
राहत वितरण कार्यको अनुगमनका लागि ठूला चार राजनीतिक दल, नागरिक समाज, नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्थाका प्रतिनिधि सम्मिलित एक अनुगमन टोलीसमेत गठन गरिएको छ ।
बाढी र डुबान प्रभावितलाई राहत प्रदान गर्न विश्व स्वास्थ्य सङ्गठनले औषधि र बिस्कुट, जापानी सहयोग नियोग जिआइजेटले एक लाख मूल्यबराबरको औषधि र एक लाख मूल्यको खाद्यान्न, लुथ्रन विश्व फिडरेसनले ५० हजार नगद सहयोग दिएको छ ।
त्यसै गरी, ५० वटा गैरखाद्य सेट, वल्ड भिजन नेपालले एक लाखबराबरको खाद्यान्न, डेनिडा चर्च एडबाट ७ सय ६२ सेट गैरखाद्य सामग्री, केयर नेपालले एक लाखको खाद्य सामग्री, कैलाली उद्योग वाणिज्य सङ्घले नगद एक लाख र जिल्ला विकास समिति कैलालीले नगद एक लाख ७५ हजार सहयोग उपलब्ध गराएको छ ।
कर्णाली नदीमा साउन २९ र ३० गते आएको बाढी बस्तीमा पसेपछि कैलालीका पूर्वी क्षेत्रका टीकापुर नगर क्षेत्र र धनसिंपुर, नारायणपुर, मुनुवा, पथरैया, थापापुर, पहलमानपुर, दुर्गौली, भजनी, कोटातुल्सीपुरलगायत १६ गाविसका बासिन्दा प्रभावित भएका थिए । रासस















प्रतिक्रिया