२ कार्तिक २०८३, सोमबार

‘ढिलासुस्ती र विवाद’ विकास योजनाका मुख्य समस्या

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Beni Jomsom Sadak

विसं २०६९ सालमा बेनीदेखि पाखापानीसम्मको साढे १५ किलोमिटर सडक स्तरवृद्धिका लागि एडिबीले ऋण उपलब्ध गराउने सम्झौता गरेकामा काम सुरु गर्न प्रक्रियामै चार वर्षभन्दा बढी समय खेर गएको थियो । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसी विकास आयोजनामा ढिलासुस्ती हुनुमा सरकारी निकायको झन्झटिलो र प्रक्रियामुखी काम गर्ने शैली प्रमुख कारण भएको बताउनुहुन्छ ।

‘खोलाको किनारमा गर्नुपर्ने कामका लागि वैशाखमा टेन्डर निकाल्ने, जेठमा सम्झौता गर्ने अनि व्यवसायीलाई दोष लगाउने चलन छ,’ अध्यक्ष जिसीले भन्नुभयो – ‘स्थानीयले चन्दा माग्ने र विवाद निकालेर काम गर्न नदिने थप समस्या छन् ।’

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले बेनी बजार संरक्षणका लागि कालीगण्डकी किनारमा आरसिसी पर्खाल बनाउन गत वैशाखमा टेन्डर आव्हान गरेर जेठमा सुरु भएको काम नदीमा पानीको सतह बढेर प्रभावित भएको थियो । यद्यपि यो योजना निर्धारित समयभन्दा एक महिना अघि नै सम्पन्न हुने अवस्थामा छ । राजनीतिक दल, आमा समूह, युवा क्लबको नाममा चन्दा माग्ने, नदिए विवाद झिक्ने र उजुरी गरेर दुःख दिने गुनासो निर्माण व्यवसायीको छ ।

पोखरेबगर–घार सडक विस्तार र स्तरवृद्धिका क्रममा पनि स्थानीय बासिन्दाले मापदण्ड अनुसारको जग्गा छोड्न नमानेपछि केही ठाउँमा नाली निर्माण हुन नसकेको जिविसका प्राविधिक कमल चोखालले बताउनुभयो ।

निर्माण व्यवसायी सङ्घका अध्यक्ष जिसी ठूला कम्पनीले काम लिने र अनुभव, क्षमता र उपकरण नभएका व्यवसायीलाई काम सुम्पने प्रवृत्ति व्यवसायीको प्रमुख कमजोरी भएको स्वीकार गर्नुहुन्छ । सम्झौता गरेको कम्पनीले सरकारी कार्यालयबाट पैसा भुक्तानी लिने तर काम गर्ने स्थानीय ठेकेदारले नपाउने समस्या जटिल रुपमा देखिएको छ ।

कतिपय स्थानीय निर्माण व्यवसायी ठूला कम्पनीको शोषणका कारण पलायन भएका छन् । म्याग्दीमा ८२ वटा निर्माण कम्पनी छन् । अधिकांश काठमाडौँ, पोखरा, मकवानपुर, बुटवल, चितवनका ठूला कम्पनीबाट पेटी ठेक्काको रुपमा काम गर्छन् । पर्याप्त पुँजी, प्रविधि, उपकरण र जनशक्ति नहुँदा स्थानीय निर्माण व्यवसायी ठूला कम्पनीमा निर्भर छन् । निर्माण व्यवसायीले प्रतिस्पर्धा हुन नदिन मिलेमतो गरेर टेन्डर हाल्ने गरेको कर्मचारीहरु बताउँछन् ।

जिल्ला बाहिरबाट टेन्डर हाल्न आउनेलाई स्थानीय व्यवसायीले अवरोध गरेको गुनासो छ । ई–बिडिङमार्फत ठेक्का परेपनि कार्यक्षेत्रमा काम गर्न स्थानीय व्यवसायीको चित्त बुझाउनै पर्ने ठूला ब्यवसायीको बाध्यता रहेको रणवाङ सिँचाइ आयोजनाको काम गरेको चितवनको ईको बिल्डर्सका सञ्चालक राजेन्द्र बर्तौलाले बताउनुभयो ।

म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल ठेक्का प्रक्रियामा तीन महिनासम्म अल्झिनुपर्ने अवस्थालाई छोटाएर एक महिनामै सक्ने व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ । ‘एउटा कम्पनीले कति वटासम्म काम गर्ने पाउने हो भन्ने विषयमा स्पष्ट र उसले जिम्मेवारी लिएको काम सकिने ग्यारेन्टी भएपछि अर्को काम गर्न पाउने नीतिगत ब्यवस्था गर्नुपर्छ’ पौडेलले भन्नुभयो – ‘जसले सम्झौता गर्छ उसैले काम गर्ने अवस्था भएमात्र विकास योजनामा हुने ढिलासुस्ती हट्ने देखिन्छ ।’

स्थानीय निकायले ६० लाख रुपैयाँभन्दा माथिका र अन्य सरकारी निकायले दश लाखमाथिको काम ठेक्कामार्फत गर्नुपर्ने नीतिगत व्यवस्था छ । ठेक्का प्रस्ताव आव्हानको सूचनाको ३५ दिने मूल्याङ्कन, मूल्याङ्कनपछि हुने आशयपत्रको सूचना प्रकाशन, त्यसपछिको सम्झौता गर्न आउने सूचना जस्ता प्रक्रिया पूरा गर्न कम्तीमा तीन महिना समय लाग्छ ।

ठेक्का सम्झौता गरेपछि कार्यक्षेत्रमा परिचालन हुन व्यवसायीले कुल सम्झौता रकमको बीस प्रतिशत पेस्की पाउने व्यवस्था छ । त्यसपछि कामको आधारमा भुक्तानी दिने गरिन्छ । पहिलो चरणमा सम्झौता अनुसारको काम गर्न नसकेपछि व्यवसायीले सम्बन्धित कार्यालयलाई म्याद थपको प्रस्ताव गर्न पाउँछन् ।

बन्द हडताल, नाकाबन्दी, भूकम्पले निर्माण सामग्री अभाव र मजदुर नपाएको बहाना बनाएर म्याद थपका लागि ठेकेदारले निवेदन दिने गरेका छन् । कार्यालय प्रमुखले औचित्य हेरेर बढीमा छ महिनासम्म म्याद थप गर्न पाउने र सो अवधिमा पनि सम्पन्न नभए माथिल्लो तहबाट स्वीकृति लिनुपर्ने सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर उज्वल शर्माले बताउनुभयो ।

उहाँका अनुसार कार्यालय र उपल्लो तहबाट म्याद थप गर्दा समेत काम गर्न नसक्ने कम्पनीलाई कुल सम्झौता रकमको प्रतिदिन ०।०५ प्रतिशतका दरले जरिवाना तिराउन सकिने नियम रहेको छ । बेनी–जोमसोम सडक अन्तर्गत रुप्से खोलामा मोटरेबल पुल बनाउने ठेक्का लिएको बिएन कन्स्ट्रक्सन यस्तो जरिवानामा परेको थियो ।

यसअघि रातो किताब प्राप्त भैसकेपछि क्षेत्रीय, विभाग हुँदै मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट अनुमति लिएर मात्र योजनाको ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने नीतिगत व्यवस्था रहेको थियो । चालु आर्थिक वर्षदेखि लागू हुने गरी सो व्यवस्था संशोधन भएको छ । अब स्वीकृत योजनालाई ठेक्का लगाउन माथिल्लो निकायको अख्तियारी पर्खनुपर्ने अवस्थाको अन्त्य हुने सिँचाइ विकास सबडिभिजन कार्यालयका प्रमुख इन्जिनियर रमेशराज शर्माले बताउनुभयो । उहाँका अनुसार स्वीकृत योजनाको कामका लागि अब असोजमा ठेक्का आव्हान गर्न सकिने भएकाले केही सहज हुनेछ । रासस