काठमाडौं, २ भदौ । प्रहरी मुठभेडमा मारिएको दाबी गरिएका गुण्डा नाईके दिनेश अधिकारी चरीको घटनाको प्रतिशोध साँध्न चलचित्र निर्माता रोज राणा भनिने सरोज थापा उपर आक्रमण भएको खुलेको छ ।
गुण्डा नाईके चरीको ब्यवसायिक साझेदार रहेका रोजले कारोबार अन्तर्गत दिनुपर्ने रकम नदिएको र चरीको मुठभेड गराउन सहयोगी भूमिका खेलेको आरोपमा आक्रमण भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
रोजलाई आक्रमण गर्ने दुईजना पक्राउ परेपछि प्रहरी अनुसन्धानमा चरीको मुठभेडपछि फरार रहेका गुण्डा नाईकेको नाम बाहिर आएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका दुबैले आक्रमणकारीलाई भारतमा बस्दै आएका जोधा भन्ने रत्नबहादुर लामाको निर्देशनमा घटना भएको बयान दिएका हुन् ।
महाशाखाका अनुसार जोधाकै योजनामा भक्तपुरका मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामाले दिनभर रोजको पिछागर्दै सोमबार मध्यबानेश्वरमा खुकुरी प्रहार गरेका हुन ।
प्रहरी हिरासतमा रहेका दुबै चरीको समूहमा रहेका ब्यक्ति हुन । चरीसँगै नयाँ बजार क्षेत्रमा सक्रिय दुबैलाई भारतको पश्चिम बंगाल सिलगुडीमा बस्दै आएका जोधाले आक्रमणका लागि रकम समेत उपलब्ध गराएको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले रोज र जोधाकाबीचमा विगतमा रहेको कारोबारका कारण आक्रमण भएको अनुसन्धानमा देखिएको बताए ।
उनका अनुसार आक्रमणकारीलाई रोजको हत्या वा अंगभंगका लागि जोधाले ३० लाख रुपैयाँ दिने बाचा गरेको आक्रमणमा संलग्नले प्रहरीमा बयान दिएका छन ।
प्रहरी अनुसन्धानमा जोधाले समूहका प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप ५० हजार भारतीय रुपैयाँ दिएको खुल्न खुलेको छ ।
दोस्रो पटक करिव तीन हप्ता पहिला भारतबाट जोधा भन्ने रत्नबहादुर लामा नेपाल आई प्रजापतिको घरमा गई थापालाई आक्रमणका लागि ३० हजार रुपैयाँ दिएको र काम भए पश्चात ३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको अनुसन्धानबाट खुलेको हो ।
महाशाखाकै कारवाहीमा २०७१ साउन २१ मा मारिएका दिनेश अधिकारी चरीको हत्यापछि उनको समूह तितरबितर भएको थियो ।
समूहका सदस्यले खुलेरै रोजले प्रहरी अधिकारीसँग मिलेर चरीको मुठभेड गराएको आरोप लगाउदै आएको छ ।















प्रतिक्रिया