काठमाडौं, १ भदौँ । अध्यागमन विभागले आर्थिक वर्ष ०७२–७३ मा जघन्य अपराधमा संलग्न ४५ विदेशी नागरिकलाई देशनिकाला गरेको छ ।
जघन्य अपराधमा संलग्न विदेशी नागरिकको भिसा रद्द गर्दै नेपालबाट निकालिएको विभागले जनाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
निकालामा पर्नेमा अधिकांश लागूऔषध कारोबारमा संलग्न छन् । उनीहरूलाई अधिकतम १० वर्षसम्म नेपाल आउन नपाउने गरी निकाला गरिएको विभागका प्रमुख केदार न्यौपानेले जानकारी दिए ।
विभागको विवरणअनुसार १ वर्षको अवधिमा ६ सय ६१ मुद्दा दर्ता भएका छन् । तीमध्ये ७१ जनालाई जाली राहदानीमा मुद्दा चलाइएको न्यौपानेले बताए ।
पछिल्लो समय जाली राहदानीमा नेपाल आउने सिरियन नागरिकको संख्या बढेको थियो । विभागका अनुसार बिनाभिसा नेपाल बसेका २ सय ३६ विदेशी नागरिकलाई निकाला गरिएको छ ।
अध्यागमन कार्यालयबाट बाहिरिएपछि नेपालमा बस्ने विदेशीबारे अनुगमन नहुने हुँदा कानुनविपरीत काम गर्ने, बिनाभिसा लामो समयसम्म बसेका घटना बढेको उनले बताए ।
यसलाई नियन्त्रण गर्न होटलमा बस्ने विदेशी नागरिकबारे अध्यागमनले सूचना पाउने गरी प्रणाली स्थापना गर्ने तयारी थालेको न्यौपानेले बताए ।
आर्थिक वर्ष ०७२–७३ को विवरणअनुसार अध्यागमनले १ लाख ६३ हजार ५ सय १८ भिसा जारी गरेको छ । जारी भिसामा पर्यटकको संख्या सबैभन्दा धेरै छ ।
अध्यागमनले १ वर्षमा १३ सय ९८ वटा कामदार भिसा जारी गरेको छ । विवरणमा उल्लेख भएअनुसार ३१ सय ७८ जनाले बिजनेस भिसा लिएका छन् ।
११ सय ४० वैवाहिक भिसा, ४ सय ६० एनआरएन भिसा, ३४ सय ७६ सम्बन्धका आधारमा जारी हुने भिसा, ४२ वटा रेसिडेन्टल भिसा, १९ सय ११ अध्ययन भिसा जारी भएको छ ।
१ वर्षको अवधिमा १ लाख ५१ हजार ४ सय ३२ विदेशी पर्यटक भिसामा नेपाल आएका छन् ।















प्रतिक्रिया