विराटनगर, ३२ साउन । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय निकायको पुनःसंरचना अवैज्ञानिक र अव्यवहारिक भएकाले पुनःसंरचना आयोगको प्रतिवेदन तत्काल खारेज गर्न आग्रह गर्नुभएको छ ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मोरङले विराटनगरमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले स्थानीय निकायको पुनःसंरचना राजनीतिक विषय भएको र राजनीतिक दलको निर्णयका आधारमा स्थानीय निकायको पुनःसंरचना हुनुपर्ने जिकिर गर्नुभयो ।
अध्यक्ष गच्छदारले राजनीतिक सहमतिका आधारमा न्यूनतम पनि एक हजार २०० स्थानीय निकाय बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले संविधानको कार्यान्वयन र राजनीतिक विवाद समाधानका लागि प्रमुख राजनीतिक दलबीच सहमतिमा जोड दिनुभयो ।
अध्यक्ष गच्छदारले एमालेलगायतका प्रमुख दललाई निषेध गरेर संविधान कार्यान्वयन हुन नसक्ने स्पष्ट पार्दै सीमाङ्कनको मुद्दा समाधान गर्न र २०७४ माघ ७ गतेअघि तीनवटा निर्वाचनका लागि राजनीतिक सहमति अनिवार्य भएको बताउनुभयो । रासस












प्रतिक्रिया