काठमाडौं, ३१ साउन । नेकपा (एमाले) स्थायी समितिको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा आज पनि बसेको छ ।
बैठकमा यसअघि पार्टीले नेतृत्व गरेको सरकार, पार्टीको नेतृत्वमा निर्माण भएको राजनीतिक समीकरण, वर्तमान सत्ता गठबन्धनलगायतका विषयमा माधवकुमार नेपाल, युवराज ज्ञवाली, भीम रावल, प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेले आ–आफ्नो समीक्षात्मक धारणा राखेको सचिव योगेश भट्टराईले बताए ।
बैठकले शोकसम्बन्धी दुई प्रस्ताव समेत पारित गरेको छ । जसमा काठमाडौंबाट काभ्रेको मदानकुडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्ता देउराली– ७, खहरेखोलामा दुर्घटना हुँदा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र उद्दार र उपचारका लागि माग गरेको छ । साथै, बसमा अनियन्त्रित यात्रु–चाप नियन्त्रण, सार्वजनिक सवारी साधन र चालकहरुको अवस्थामा निगरानी, वर्षायाममा अत्यावश्यक बाटोघाटोको तत्काल सुधार जस्ता कुरामा गम्भीरतापूर्वक ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी नेकपा (एमाले) केन्द्रीय लेखापरीक्षण आयोगका सदस्य ईश्वरीप्रसाद खरेलका सुपुत्र डा. पुकार खरेलको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
स्थायी समितिको अर्को बैठक भोलि साउन ३२ गते विहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने सचिव भट्टराईले जानकारी दिए ।












प्रतिक्रिया