काठमाडौं, ३० साउन । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुलुकको राष्ट्रिय एकता, संविधान कार्यान्वयन, पार्टी निर्माण जस्ता विषयलाई केन्द्रमा राखेर पार्टीलाई परिचालन गर्न निर्देशन दिनुभएको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी दिनमा राष्ट्रियता र पार्टी संठगनलाई केन्द्रमा राखेर अघि बढ्ने दृढता प्रकट गर्नु भएको हो । उहाँले त्यसका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनेमा जोड दिनुभएको छ ।
नयाँ सत्ता समीकरणसँगै तहगत निर्वाचन सम्पन्न गर्ने कुरामा उदासीनता देखिएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै ओलीले राजनीतिक तथा संबैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्रप्रति सजग रहन आम जनसमुदायलाई अपील गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘अघिल्लो सरकारले घोषणा गरेको तहगत निर्वाचनको कार्यतालिकालाई कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्नुपर्छ ।’
बैठकमा छलफलका लागि विगतका कामको समीक्षा, पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकको मिति निर्धारण, स्थानीय तहको पुनःसंरचनाबारे पार्टीको धारणा, पार्टीका प्रदेश कमिटीहरुको पूर्णता, सल्लाहकार परिषद्मा सदस्य थप, जेष्ठ कम्युनिस्ट मञ्च गठन, पार्टीको आगामी कार्ययोजना, केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन र पार्टी प्रवेश गरेकाहरुको जिम्मेवारी व्यवस्थापनसम्बन्धी कार्यसूची तय भएका छन् । बैठक सोमबार बिहान ११ बजे पुनः बस्नेछ ।











प्रतिक्रिया