काठमाडौं, ७ भदौ । प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको जन्म सतवार्षिकीको उपलक्ष्यमा सगरमाथा वाङमय प्रतिष्ठानले बिपी साहित्य विशेषाङ्क प्रकाशन गरी आज सार्वजनिक गरेको छ ।
विशेषाङ्क सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेस स्वतन्त्रका अध्यक्ष खिलानाथ दाहालले साहित्य सिर्जना गर्ने साहित्यकारको श्रम मर्न नदिनका लागि आफू मजदुर अधिकारकर्मीका नाताले लडिरहेको बताए ।
प्रा.पीताम्बर शर्मा दाहालले साहित्यलाई दैनिक पत्रपत्रिकाले कम महत्व दिएको गुनासो गर्दै साहित्यलाई महत्व दिने वातावरण निर्माण गरिनुपर्नेमा सम्बन्धित पक्षको ध्यानाकर्षण गए । पत्रपत्रिकाले प्रयोग गर्ने भाषा व्यापकरुपमा अशुद्ध भएकाले भाषाको शुद्धीकरणमा ध्यान दिनका लागि पनि प्रा दाहालले आग्रह गरे ।
प्रा डा कुलप्रसाद कोइरालाले साहित्य र विचार एकपक्षीय हुन नहुनेमा जोड दिँदै सन्तुलित ढङ्गले साहित्य सिर्जना गरिनुपर्नेमा साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्वको ध्यान जानुपर्ने धारणा राखे ।
ठाकुर शर्माले बिपी राजनीतिक व्यक्तित्व भए पनि साहित्यमा समेत अलग व्यक्तित्व स्थापित गराउन सफल भएको बताए ।
गजलकार ज्ञानुवाकर पौडेलले साहित्यिक पत्रिका चलाउनु भनेको दधिची ऋषि बन्नु जस्तै कठिन कार्य भएकाले साहित्यिक पत्रिकालाई जोगाइराख्नु अझ मुस्किल काम भएको उल्लेख गरे ।
प्रतिष्ठानका अध्यक्ष वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले स्वतन्त्र अभिव्यक्तिको हकलाई अभियानका रुपमा अघि बढाउन प्रतिष्ठान क्रियाशील रहेको बताए । स्वतन्त्र अभिव्यक्तिका पक्षधरलाई सगरमाथा वाङमय पत्रिकामार्फत सङ्गठित गर्न खोजिएको दाहालले जानकारी दिए ।
साहित्य विशेषाङ्कमा दुई दर्जन साहित्यकारका बिपीको साहित्यिक व्यक्तित्वसम्बन्धी रचना सङ्कलित गरिएको छ ।
विशेषाङ्कमा डा रामदयाल राकेश, पत्रकार राजेश्वर नेपाली, आरडी प्रभाष चटौत, प्रा डा गोविन्दराज भट्टराई, सहप्राध्यापक ध्रुवप्रसाद भट्टराई, र डा वीरेन्द्र पुडासैनीलगायतका रचनाकारको रचना सङ्ग्रहित गरिएको छ ।















प्रतिक्रिया