२ कार्तिक २०८३, सोमबार

कांग्रेस र एमालेविरुद्ध खनिए विपक्षीहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanghiya Ganatantrik Morchaकाठमाडौं, ७ भदौ । एमाओवादीलगायतका सात राजनीति दलले १२ बुँदे सम्झौता, अन्तरिम संविधान र विभिन्न समयमा भएका सहमतिका आधारमा संविधान लेखन प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् ।

विपक्षी दलहरु आबद्ध मोर्चाले राजधानीमा आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले विगतमा दलहरुका बीचमा भएका सहमति र सम्झौताको मर्म विपरीत गएर एकपक्षीय रुपमा संविधान लेखन प्रक्रिया अगाडि बढाउन खोजिए त्यसले मुलुकलाई थप द्वन्द्वमा लैजाने बताए ।

उनीहरुले सबैले अपनत्व महसुस गर्ने गरी अगाडि बढ्न सरकारमा रहेका दललाई आग्रह गरेका छन् ।

नेताहरुले अङ्क गणितका आधारमा प्रतिपक्षी दलको भावनाविरुद्ध गए कांग्रेस र एमालेविरुद्ध आन्दोलनमा उत्रनुको विकल्प नभएको चेतावनी दिए ।

प्रमुख विपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा गरिएका सहमति र प्रतिबद्धतामा कहीँ न कहीँ बाधा हालिएको बताए । उनले संविधानसभाभित्र रहेका र बाहिर रहेका सबै पक्षलाई संविधान निर्माण प्रक्रियाबाट बाहिर पार्ने खेल सुरु भएको बताए ।

‘पछिल्ला दिनमा सरकारमा रहेका दलहरुको गतिविधि आगामी माघ ८ गतेभित्र संविधान जारी गर्नेभन्दा पनि नगर्नेतिर बढी केन्द्रित हुँदै गएको देखिन्छ,’ उनले भने, ‘यसलाई रोक्न पनि सबै तह र तप्काको बीचमा एकताको आवश्यकता छ ।’

संविधान सहमतिको दस्तावेज हुने भएकाले कांग्रेस र एमाले लचक भएर आए एमाओवादी र मोर्चाका तर्फबाट थप लचकता अपनाउन सकिने दाहालको भनाइ थियो ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान निर्माण प्रक्रियालाई गति दिनेभन्दा पनि त्यसमा बाधा व्यवधान खडा गर्न सत्ताधारी दल उद्यत् रहेको आरोप लगाए ।

स्थानीय निकायको निर्वाचनको विषय संविधान बन्न नदिने प्रपञ्चका साथ आएको भन्दै उनले संविधान घोषणाभन्दा पहिले निर्वाचनको कुरा गरिए त्यसको प्रतिकार गरिने चेतावनी दिए ।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले परिवर्तनकारी शक्तिलाई आन्तरिक र बाह्य रुपमा तहसनहस पारेर २०४७ सालकै संविधान जारी गर्ने प्रपञ्च जारी रहेको आरोप लगाए ।

कार्यक्रममा सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संविधान निर्माणमा सबै वर्ग तथा तह तप्कालाई सहभागी नगराइकन एकलौटी रुपमा ठूला दलले मात्रै आफ्नो स्वार्थ लाद्न खोजिए त्यसले मुलुकलाई निकास नदिने धारणा राखेका थिए ।